पोखरा/कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३ कै करण लामालाई एस्काभेटरको सहायताले सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहान १० बजेतिर उद्धार गरेको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तीन जनालाई सकुशल उद्धार गरी पोखरा ल्याउन लागिएको बताए । æउहाँहरुको उद्धार भएको छ, अब पोखरा ल्याएर स्वास्थ्य जाँच गरी परिवारको जिम्मा लगाउँछौँ,Æ बरालले भन्नुभयो ।
माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ को मोदी नदी किनारमा तीन युवा मङ्गलबार रातिबाट अलपत्र परेका थिए । दुई रात उनीहरुले नजिकैको ओडारमा बिताएका थिए ।
युवाहरु अलपत्र परेको क्षेत्र पोखरा महानगरबाट ७० किलोमिटर उत्तरमा पर्छ । उद्धारका लागि बुधबार बिहानैबाट टोली खटिए पनि प्रयास सार्थक भएको थिएन । मोदीमा फड्के बनाउने, एस्काभेटरबाट ल्याउने लगाएका प्रयास भएका थिए ।
नेपाली प्रहरीका दुई जना, सशस्त्र प्रहरीका नौ जना र नेपाली सेनाका छ जना गरी १७ जनाको टोली उद्धारमा खटिएको थियो । टोलीले हाइड्रो पावरका लागि टाँगिएको तारबाट खोला पारी गई युवाहरुलाई डोरीको सहायताले उद्धार गरेको हो ।





