आइतबार, साउन २४ २०८३

आइतबार, साउन २४ २०८३
  • २४ साउन २०८३ , आइतबार
  • August 9 2026

एलपी ग्यासमा ‘कालोबजारी’ कि लुकीछिपी बिक्री ?

एलपी ग्यासमा ‘कालोबजारी’ कि लुकीछिपी बिक्री ?


  • ढाेरपाटन संवाददाता
  • साउन २२ २०८३, शुक्रबार

तस्विर : त्रिलोचन रिजाल
बागलुङ/बजारमा तोकेको भन्दा बढी मूल्यमा सामाग्री बिक्री गरेमा कालोबजारी मानिन्छ । खाना पकाउने एलपी ग्यास भने मनलाग्दी मूल्यमा डिपोबाट बेचिएको छैन । घरमा लगेको खण्डमा वा लुकीछिपी गरेर केही चर्को मूल्यमा बेचेको भने खुलेको छ ।

जिल्ला प्रशासन कार्यालयले भने त्यस्तो कारोवार गर्नेलाई ‘कालोबजारी’ कसुरमा कारवाही प्रकृया अगाडि बढाएको छ । गत सोमबार जथाभावी मुल्य राखेर बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रशासनले गृहलक्ष्मी ग्यास बिक्रेतालाई मुद्दा लगाएको हो । उक्त ग्यास बेच्ने न्यु कपुर किचनको गाडी समेत प्रहरीले नियन्त्रणमा राखेको छ ।

बजारमा सिलिण्डर अभाव देखाएर महंगोमा बिक्री गरेको थाहा पाएपछि प्रहरीको सहयोगमा प्रशासनले डिपोहरुमा छापा मार्ने, कालोबजारी गर्नेहरुको निगरानी गर्ने काम पनि अगाडि बढाएको हो । व्यवसायीले भने यो कालोबजारी नभइ केही नियमित उपभोक्तालाई लगिदिएको र सो बापत भाडाको मूल्य लिएको दाबी गरेका छन् ।

नागरिकलाई सास्ती दिने, भएको सामाग्री पनि नभएको भनी कृतिम अभाव देखाउने र महंगोमा बिक्री गर्नेलाई कानुन बमोजिम कारवाही गरेर बजारलाई व्यवस्थित बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

‘जिल्लामा सामान्य अवस्थामा मासिक ४ हजार ४ सय सिलिण्डर आउँदा पुग्ने गरेकोमा अहिले पटक पटक गरी त्यो भन्दा बढी आइसक्दा पनि व्यवसायीले अभाव भन्न थालेपछि अनुगमन गरेका थियौ’ आचार्यले भने, ‘कृतिम अभाव देखाएर उपभोक्तालाई अनावस्यक चर्को मूल्य लगाउन खोजेपछि कारवाही गर्नैपर्छ ।’ कसुरको मात्रा हेरेर कालोबजारीमा कारवाही हुने उनले बताए ।

प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार तोकिएको मुल्यभन्दा बढीमा बिक्री गरेमा कालोबजारी हुने र कारवाही गर्न बाध्य हुने बताए । एलपी ग्यास बिक्रेता र प्रशासनको सहमतिमा सदरमुकाममा २ हजार १ सय ५०, गलकोटमा २ हजार २ सय ५० र बुर्तिवाङमा २ हजार ३ सय रुपैयाँमा सिलिण्डर बेच्न पाउने व्यवस्था छ । त्यस बाहेक ट्याक्सी वा रिक्सामा लैजाँदा लाग्ने भाडा उपभोक्ताले तिर्नु पर्नेछ ।

अनुगमनको क्रममा भने २ हजार ३ सयदेखि २ हजार ५ सय सम्ममा बिक्री गरेको, पसलमा छैन भनेर उपभोक्तालाई लाइन लगाउने र गोप्य रुपमा आफन्तलाई आवस्यकता भन्दा बढी बिक्री गर्ने वा स्टक राख्न लगाउने भेटिएपछि प्रशासनले निगरानी बढाएको हो । व्यवसायीलाई कारवाही गर्ने चाहना नभइ बाध्यता आइपरेको आचार्यले बताए ।

बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले नियतले नभइ कतिपय साथीहरुले आफन्तलाई लगिदिने गरेको अवस्थामा केही सिलिण्डर भेटिएपछि मुद्दाको विषय बनेको बताए । ‘साथीहरुको पनि केही कमजोरी छन्, डिपोबाटै तोकेको मूल्यमा बेच्नुपर्नेमा महंगो लिएर घर लगिदिन नहुने थियो’ शाक्यले भने, ‘मुद्दा त चलाउनुहोस्, तर व्यवसायीले कमजोरी स्विकारेको भए आगामी दिनमा यस्तो काम नगर्ने प्रतिवद्दतामा छाडिदिनुहोस् भनेका छौ ।’ प्रशासनले भने कारवाही गरेरै सुशासनको काम थाल्ने बताएको छ ।

प्रहरीले अबैध र कालोबजारी गरी बेच्न लागेको अवस्थाका ४७ थान सिलिण्डर बरामद गरेको छ । उक्त सिलिण्डर प्रकृया पु¥याएर मात्र फिर्ता गरिने छ । त्यसका लागि उद्योग बाणिज्य संघ, एलपी ग्यास बिक्रेता संघ र प्रशासनबीच छलफल चलिरहेको छ । बदनियत राखेर काम गर्ने जो–कसैलाई कारवाही गरिने समेत आचार्यले जानकारी दिए ।

सदरमुकामका नौ वटा डिपोमा प्रशासनले निगरानी गरिरहेको छ । सिलिण्डर लुकाउन सक्ने शंकास्पद स्थानमा पनि निगरानी भएको आचार्यले जानकारी दिए । त्यस बाहेक सचिना किराना पसल, पञ्चकोट किराना पसल, सर्वसिद्दि फिड सर्भिसले अनुमतिबिनै ग्यास बेचेको आरोपमा प्रशासनले कारवाहीको प्रकृया अगाडि बढाएको छ । आचार्यले बजारमा कृतिम अभाव नहुने र आवस्यकता अनुसारको सिलिण्डर भित्रिन क्रम बढेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->