आइतबार, साउन २४ २०८३

आइतबार, साउन २४ २०८३
  • २४ साउन २०८३ , आइतबार
  • August 9 2026

पोखरा १७ नमुना वडाको यात्रामा

पोखरा १७ नमुना वडाको यात्रामा

'हाम्रो जीवनभरी रहने एउटा काम भनेको वडाको भवन बनाउनु हो । निर्वाचित भएर आएपश्चात नै वडाको आफ्नै भवन चाहिन्छ भनेर बनाएका हौं ।'


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८३, शनिबार

पोखरा/पोखरा महानगरपालिकाको वडामध्ये बढी जनसंख्या भएको वडामा पर्छ पोखरा १७ । २०६८ को जनगणना अनुसार यहाँको जनसंख्या ४० हजार ५ छ । महानगरपालिकाका ६ वटा वडाले घेरिएको यो धार्मिक, प्राकृतिक र पर्यटकीय वडासमेत हो । यो वडामा फेवाताल, ऐतिहासिक ढुंगेसाँघु, गुप्तेश्वर गुफा, पाताले छाँगो, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसँगै पोखराकै स्टार होटलहरूसमेत छन् ।

सँगसँगै ४ सामुदायिक, एउटा धार्मिक र १९ संस्थागत विद्यालय वडामा छन् । वडाको नेतृत्वमा छिन् राधिकाकुमारी शाही । उनी पोखरा महानगरकी एक्ली महिला वडाध्यक्षसमेत हुन् । यो वडालाई पोखराकै नमुना बनाउने उनको ध्येय छ । वडाले पूर्वाधार विकास र प्रशासनिक कामसँगै केही व्यक्तिका लागि त आमा–बुबा नै बनेर जीवन कायाकल्प गरेका कथासमेत यहीँ वडामा छ ।

संघीयतापछि स्थानीय तह कार्यान्वयनको यो नवौं वर्ष हो । पहिलो कार्यकालमा वडा सदस्य रहेकी शाही अनुभव बटुल्दै वडाध्यक्षमा निर्वाचित भइन् । उनी निर्वाचित भएर आएपछि वडाले केही नमुना कार्य गरेको छ । तीमध्ये एक हो स्वास्थ्य केन्द्रलाई स्वास्थ्य प्रवद्र्धन केन्द्र बनाउनु । स्वास्थ्य केन्द्रमा सामान्य जाँच हुन्थ्यो भने अहिले प्रवद्र्धन केन्द्र बनाएपश्चात विशेषज्ञसहितको सेवा वडामै पाइन्छ ।

यसका लागि उनको टिमले कयौँ बाधा सामना गर्नु प¥यो । ‘हामीले वडाको जनप्रतिनिधि भएर धेरै काम गरेका छौं । स्वास्थ्य केन्द्रलाई प्रवद्र्धन केन्द्र बनायौँ । अहिले नागरिकले दिशा–पिसाब, सुगर, थाइराइड परीक्षणसँगै विशेषज्ञ सेवा पनि यहीबाट पाउने अवस्था छ’, उनले भनिन्, ‘स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो । भोलि हामी पनि बुढेसकालमा हिँड्दै जाने भनेको त्यही नजिकको स्वास्थ्य संस्थामै हो । त्यसैले यो मेरो लागि ठूलो काम हो ।’

वडाको व्यवस्थित भवन निर्माण भएको छ । नागरिक सबैभन्दा पहिला ठोक्किने सरकार भनेकै वडा हो । उनको कार्यकालमा वडाको आफ्नो सुविधासम्पन्न भवन बन्यो । ‘हाम्रो जीवनभरि रहने एउटा काम भनेको वडाको भवन बनाउनु हो । हामीले निर्वाचित भएर आएपश्चात नै वडाको आफ्नै भवन चाहिन्छ भनेर बनाएका हौँ । जेनजी आन्दोलनमा जलाउने र तोडफोड भयो र सबै नागरिक र टोलको सहयोगमा हामी पुनः उठ्यौँ’, उनले थपिन् ।

अटिजम भएका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने पहल पनि वडाले गरेको छ । अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित अवस्था हो, अटिजम भएका बालबालिका वा व्यक्तिले एउटै काम दोहो¥याई रहने, गोल–गोल घुम्ने गर्छन् । सानै उमेरमा पहिचान गरी उपचार गराएमा उनीहरू सहज तरिकाले समाजमा बाच्न सक्छन् । तिनै अटिजम भएका बालबालिकाका लागि वडाले अटिजम स्कुल कक्षा चलाएको हो । जानकी माविमा अटिजम भएका बालबालिका लागि छुट्टै संरचनासहित कक्षा सञ्चालन गरिएको छ ।

‘मैले नेपालभरिमा हेरें तर, अटिजम भएकालाई पढाउने चितवनमा देखेँ । अन्त कतै नरहेछ । अरू संघ, संस्थाले चलाएका छन्, सरकारले चलाएको छैन’, शाहीले थपिन्, ‘अहिले आठ जनाले रोजगारी पाएका छन् । थेरापिस्टसहितको सेवा दिइरहेका छौँ । त्यस्तो विद्यालय खोल्नु पनि हामीले धर्मै गरे जस्तो लाग्यो । यी काम हाम्रो जीवनका लागि, पछिको लागि यो सम्झिन लायक छन् ।’

महानगरमा सर्वाधिक कर उठाउने र महानगरको कार्यसम्पादनमा समेत सधैं अब्बल ठहरिने यो वडामा बाटो, घाटोदेखि पूर्वाधारका काम भइ नै रहेका छन् । वडाको कार्य सम्पादन जनताले चाहेअनुसार अझै हुन नसकेको उनको भनाइ छ । वडा तहमा कर्मचारीसमेत मन फुकाएर आउन नसक्ने र सम्बन्धित कामकै कर्मचारी नहुँदा समस्या आउने गरेका छन् ।

यो वडाको मुख्य जोखिम भनेको फेवा बाँध र फेवा नहर हुन् । जीर्ण बनेको फेवा बाँधले जुनसुकै बेला घटना घट्न सक्ने जोखिम छ भने फेवा नहरबाट ओभर फ्लो भएर आउँदा बस्तीहरू डुबानमा पर्ने गरेका छन् । फेवाबाटै पाताले छाँगोमा पुग्ने पानी र फेवा नहरबाट जाने पानीका कारण दोबिल्ला क्षेत्रमा कटान हुन्छ ।

वडाले क्षमताले भ्याएसम्म र मिलेसम्मका सबै क्षेत्रमा सडक पु¥याएको छ । विरौटादेखि वडा नम्बर ७ को सिमानामा पर्ने तीनकुनेसम्म सिद्धार्थ राजमार्गभन्दा पनि उत्कृष्ट आरटिओ रोड वडाले निर्माण गरेको छ । यो सडक उनी अघिल्लो कार्यकालमा सदस्य हुँदाको योजना थियो भने अध्यक्ष हुँदा पूरा भयो । महतगौंडादेखि दोबिल्लासम्म २० फिटको बाटो कायम गरिएको छ ।

यीबाहेक उनी आफ्नो कार्यकालभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिन चाहन्छिन् । यसका लागि वडाले सबै कार्य सम्पन्न गरे पनि राज्यकै माथिल्लो निकायका कारण अहिलेसम्म वितरण हुन सकेको छैन । वडाले १ हजार ३ सय २ निस्सासमेत वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->