पोखरा/पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गरिएको छ । कार्यक्रमको दोस्रो दिन शुक्रबार महानगरपालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाहरूको प्रगतिको लेखाजोख गरियो ।
आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, प्रशासन, राजस्व, वित्त व्यवस्थापन, शहरी विकास तथा पर्यटन, योजना तथा अनुगमन र सूचना प्रविधि महाशाखाले वार्षिक प्रगति प्रस्तुत गरे । सम्बन्धित महाशाखा तथा शाखाका प्रमुखहरूले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम, हाँसिल भएका उपलब्धि, बजेट कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहका विषयमा जानकारी गराए ।
समीक्षाकमा कार्यक्रम तथा योजनाको कार्यान्वयन अवस्था, बजेट खर्च, सेवा प्रवाहमा देखिएका समस्या, उपलब्धि तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको छ । महानगरपालिकाले नागरिकलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यसहित सञ्चालन गरेका कार्यक्रमहरूको उपलब्धि र प्रभावकारिताको समेत मूल्याङ्कन गरेको छ ।
कार्यक्रमको पहिलो दिन वडा कार्यालय र दोस्रो दिन महाशाखाहरूको प्रगति समीक्षा गरिएको योजना महाशाखा प्रमुख अशोक सुनारले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलेसेवालाई चुस्त, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास, निर्माणको अभियानलाई थप तीव्रता दिन वडा सचिवहरूलाई निर्देशन दिए । उनले वडा कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिने निकाय भएकाले सेवा प्रवाहमा प्रभावकारिता, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उपमेयर मञ्जुदेवी गुरुङले वडा कार्यालयहरूको सेवा प्रवाहलाई थप सशक्त बनाउँदै सुशासन प्रवद्र्धन र नतिजामुखी कार्यसम्पादनमा जोड दिइन् । उनले नागरिकले स्थानीय सरकारबाट अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराम पौडेलले प्रभावकारी सेवा प्रवाहमा जोड दिए ।





