पोखरा/पोखरा र दाङको देउखुरी उद्योग वाणिज्य संघ निजी क्षेत्रको हितका निम्ति समान एजेन्डासहित अगाडि बढ्न सहमत भएका छन् । दुवै उद्योग वाणिज्य संघबीच पर्यटन र सेवा क्षेत्रमा सहकार्यको सहमति पनि बनेको छ ।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन भ्रमणके क्रममा शुक्रबार पोखरा आएको देउखुरी उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले निजी क्षेत्रमाथि आइपर्ने समस्या समाधानका निम्ति साझा अवधारणा हुनुपर्नेमा जोड दिए ।
देशव्यापी संरचना रहेको नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको हितका लागि नेतृत्व लिनुपर्ने बताउँदै उनले जिल्ला, नगरमा रहेका उद्योगी÷व्यवसायीका समस्या केन्द्रमा पु¥याउने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष कार्कीले पोखरा उद्योग वाणिज्य संघले सम्पादन गरेका असल अभ्यासबारे भ्रमण टोलीलाई जानकारी पनि गराएका थिए ।
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले लुम्बिनीको प्रदेश राजधानीसमेत रहेको देउखुरी क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको र खासगरी होटल,साहसिक पर्यटनलगायतका क्षेत्रमा पोखराबाट लगानीको अपेक्षा गरेको सुनाए । देउखुरीबाट भारतीय सीमा ३४ किलोमिटर तथा राम जन्मभूमि अयोध्या १ सय ३४ किलोमिटर टाढा रहेको बताउँदै उनले सो बाटो हुँदै भारत तीर्थयात्रामा जानको लागि पोखरेलीलाई सहजीकरण गर्न आफू तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला, महासचिव शोभा गौतम लगायतले बोलेका थिए ।





