लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा कृषि क्षेत्रको विकास, उत्पादनको बजारीकरण तथा किसानका समस्या समाधानका विषयमा छलफल भएको छ । पोखरा महानगरपालिकाका वडा नं. २६ देखि ३३, रूपा गाउँपालिका र मादी गाउँपालिकाका कृषि सञ्जालमा आबद्ध पदाधिकारी तथा कृषकको सहभागितामा कार्यक्रम गरिएको हो ।
आगामी असोजदेखि फ्लाई दुबईको नियमित उडान सुरु हुने सन्दर्भमा कास्कीमा उत्पादित कृषिवस्तुलाई खाडी मुलुकसम्म पु¥याउने सम्भावना र बजार विस्तारका विषयमा समेत छलफल भएको छ । कार्यक्रममा स्थानीय कृषि उत्पादनको बजार सुनिश्चित गर्ने, प्रशोधन उद्योग स्थापना गर्ने, किसानलाई व्यवसायसँग जोड्ने, बाँझो जमिनको व्यावसायिक उपयोग गर्ने तथा स्थानीय उत्पादनको खपत बढाउने विषयमा विचार आदानप्रदान भएको छ ।
किसानलाई मल, बिउ तथा कृषि प्रविधि सहज रूपमा उपलब्ध गराउने, सहुलियतपूर्ण कृषि कर्जा तथा कृषि बिमाको पहुँच विस्तार गर्ने, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, स्थानीय तथा रैथाने बालीको संरक्षण र व्यावसायीकरण गर्ने विषयमा सहभागीले धारणा राखेका थिए।पोखरा महानगरपालिकाले ब्रान्डिङ गरेका जेठो बुढो चामल र उखुबाट उत्पादित खुदोजस्ता स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने, वन्यजन्तुबाट हुने कृषि क्षति न्यूनीकरण गर्ने तथा कृषि उत्पादनलाई पर्यटनसँग जोड्ने विषयमा पनि छलफल गरिएको छ ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, कृषि आधुनिकीकरण महाशाखा कास्की प्रमुख गोविन्द श्रेष्ठ, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, व्यवसाय प्रवद्र्धनका प्रमुख नवराज अधिकारी, अलसामान इन्टरनेसनलका प्रोपाइटर कल्याण घिमिरे, संघका पूर्वअध्यक्ष बाबुराम गिरी, दयाराम तिवारी, संघका महासचिव भरतराज ओझा लगायतले बोलेका थिए ।





