बागलुङ/सरकारले कर तिर्ने समय बढाएको र अन्य नयाँ स्किम थप गर्दा कर संकलनमा कमी आएको छ । आर्थिक वर्ष २०८२/८३ को गत असार मसान्तमा तिरिसक्नुपर्ने कर तिर्ने समय आगामी पुस मसान्तसम्म सारिएपछि लक्ष्यको ३० प्रतिशत कर संकलन भएको हो ।
गत असार मसान्तमा आन्तरिक राजश्व कार्यालय बागलुङले लक्ष्यको ७० प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । १ अर्ब ८३ करोड ८७ लाख लक्ष्य राखेकोमा असार मसान्तसम्म १ अर्ब २९ करोड ३७ हजार कर संकलन भएको हो । यो ७०.४५ प्रतिशत मात्रै हो ।
पर्वतस्थित करदाता सेवा कार्यालय पनि बागलुङमा गाभिएपछि गत वर्षको फागुनपछि १ अर्ब ४६ करोडबाट बढेर १ अर्ब ८३ करोड ८७ लाख रुपैयाँको लक्ष्य पुगेको थियो । तर लक्ष्य अनुसारको काममा प्रगती नभएको प्रमुख कर अधिकृत कपिल सिलवालले बताए । कार्यालयले अन्तशुल्कतर्फ भने ९६ प्रतिशत लक्ष्य प्राप्ती गरेको छ । कुल ७ करोड ३२ लाखको लक्ष्यमा असार मसान्त सम्ममा ७ करोड ९ लाख कर संकलन गरेको थियो ।
त्यस बाहेक मूल्य अभिवृद्दि करमा ६८ प्रतिशत प्रगती गरेको छ । लक्ष्य ५० करोड ६४ लाख राखिएकोमा असार मसान्त सम्ममा ३४ करोड ७७ लाख कर संकलन गरेको थियो । आयकरमा पनि लक्ष्यभन्दा कम अर्थात् ७२ प्रतिशत मात्रै कर संकलन भएको छ । १ अर्ब ४ करोड ५४ लाख लक्ष्यमा ७५ करोड ७० लाख रुपैयाँ मात्रै संकलन भएको हो । बहालकर ८१ प्रतिशत र व्याजकर ४५ प्रतिशत मात्रै संकलन भएको छ । बहालकरतर्फ २ करोड ५० लाखको लक्ष्यमा २ करोड ४ लाख ५० हजार रुपैयाँ मात्रै संकलन भएको हो ।
नेपाल सरकारले ल्याएको आर्थिक विधेयक २०८३ र विभिन्न समयमा ल्याएको कर छुटको कार्यक्रमले पनि नियमित करदाता प्रभावित भएका छन् । कर छुट पाउने आसले करदाताले कर तिर्न ढीलाई गरेको सिलवालले बताए । हालै आएको आर्थिक विधेयकमा आयकरको व्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ ।
असार मसान्तभित्र तिर्ने कतिपय कसरको समय पौष मसान्तसम्म थपिएकोले ग्राहकले ढीलासम्म तिर्न सक्ने उनले अनुमान गरेका छन् । जेनजी आन्दोलनपछि धेरै व्यवसायिक क्रियाकलाप कम भएको, सहकारीहरुको कारोवार नै ठप्प भएकोले व्याजकर प्राप्त नभएको र केही ठूला उद्योगहरु माथिल्लो तहको कार्यालयमा कर तिर्न गएकोले यहाँको लक्ष्य कम भएको समेत उनले बताए ।
पछिल्लो समय ठूलो कारोवार गर्ने सहकारीले बागलुङमा तिर्दै आएको कर पोखरास्थित ठूलो कार्यालयमा तिर्न थालेका छन् । यो क्रमले कर संकलनमा कमी अंक देखिएको सूचना अधिकारी राजनमणी शर्माले जानकारी दिए । उनका अनुसार, आयकारमा साना व्यवसायीलाई छुटको स्किम दिंदा अघिल्लो वर्ष कर संकलन बढी भएको थियो । यो वर्ष त्यो स्किम नभएर केही व्यवसायी कर तिर्न ढीला गरिरहेका छन् ।
नेपाल सरकारले हालै ल्याएको आर्थिक बिधेयक २०८३ ले करको दायरा बढाउने र नयाँ कर राजश्वको प्रावधान शुरुवात गर्न विभिन्न करमा छुट दिएको छ । सोही अनुसार आन्तरिक राजश्व कार्यालय बागलुङले पनि केही शिर्षकमार्फत राजश्व छुटको व्यवस्था गरेको छ । विधेयकको दफा ४० अनुसार आयकरको व्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरिएको छ ।
यो व्यवस्था अनुसार कुनै पनि व्यक्तिले विगतमा स्थायी लेखा नम्बर नलिइ कर लाग्ने आयआर्जन गरी आयकर दाखिला नगरेको भए त्यस्तो व्यक्तिले स्थानीय लेखा नम्बर लिएर आर्थिक वर्ष २०७९÷०८० दखि २०८२÷०८३ सम्मको आय विवरण संवत २०८३ को पुस मसान्तसम्म दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा व्याज रकम मिनाहा गरिदिने उल्लेख छ ।
स्थायी लेखा नम्बर भएकाको हकमा पनि आयआर्जन वा कारोवार नगरेका करदाताले २०८१÷०८२ भन्दा अघिदेखिै आय विवरण दाखिला नगरेको भएपनि त्यस्तो व्यक्तिले दर्ता खारेज गर्न वा कारोवार पुनः सक्रिय बनाउन चाहेमा आगामी पुस मसान्तभित्र दर्ता खारेजीका लागि निवेदन दिएमा सो भन्दा अघिका कर तिर्न नपर्ने प्रावधान राखेको छ ।





