बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राइनासमा वृद्धाको हत्या

राइनासमा वृद्धाको हत्या


  • ढाेरपाटन संवाददाता
  • साउन २४ २०८३, आइतबार

लमजुङ / जिल्लाको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै मृत फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनको आफ्नै घरको कोठाभित्रको खाटमुनि शनिबार राति मृत अवस्थामा फेला परेकी हुन् । उनका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको र छोरी पनि विवाह भएर गएपछि उनी एक्लै घर बस्ने गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति करिब ९ बजेतिर घटनाबारे प्रहरीलाई जानकारी आएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । ‘प्रारम्भिक रुपमा हेर्दा घाँटीमा धारिलो हतियार प्रहार भएको देखिन्छ । घटना शंकास्पद रहेकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएका छौं,’ उनले भने ।

मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । उनी करिब २ वर्षदेखि उक्त घरमा बस्दै आएको प्रहरीले जनाएको छ । केही दिनअघि कामको खोजीमा मनाङतर्फ गएका मगर शनिबार घर फर्किएपछि वृद्धालाई मृत अवस्थामा देखेको र प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->