पोखरा/केही दिनयता देखिएको खाना पकाउने एलपी ग्याँसको अभाव कम गर्न प्रशासनले वितरण प्रणालीलाई थप सहज बनाएको छ । आइतबारदेखि उपभोक्ताले मुख्य डिलर वा डिपोमा लामो लाइन बस्नुपर्ने बाध्यता हटाउँदै नजिकका अधिकृत खुद्रा तथा किराना पसलबाटै ग्याँस खरिद गर्न पाउने भएका छन् ।
पोखरा क्षेत्रका सबै अधिकृत ग्याँस खुद्रा पसलबाट ग्यास बिक्री गर्ने गरी व्यवस्था मिलाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । शनिबार ग्याँस डिपो तथा बिक्री केन्द्रमा गरिएको अनुगमनपछि प्रशासनले ग्याँस वितरण खुद्रा तहसम्म विस्तार गर्ने निर्णय गरेको थियो । यसअघि मुख्य डिलर तथा डिपोमा उपभोक्ताको अत्यासलाग्दो भीड लाने गरेको थियो ।
खुद्रा पसलबाटै बिक्री सुरु भएपछि उपभोक्ताले घरनजिकैबाट ग्याँस पाउने र डिपोमा देखिएको भीड तथा लामो लाइन घट्ने अपेक्षा गरिएको छ । शनिबार गरिएको अनुगमनका क्रममा पोखराको गगनगौंडा स्थित गृहलक्ष्मी र शक्ति ग्यासका डिपोमा करिब ३ हजार भरिएका सिलिन्डर मौज्दात भेटिएको थियो । थप दुई बुलेट ग्याँस भर्ने तयारीमा रहेको तथा भारतबाट समेत २ बुलेट ग्यास पोखरा आउने क्रममा थियो ।
आइतबार पोखरामा मात्रै ७ हजारभन्दा बढी सिलिन्डर बजारमा आएको छ । गृहलक्ष्मी ग्याँसतर्फ आइतबार बिहानसम्म चार बुलेट ग्यास भरेर बजारमा पठाइएको छ । भारतबाट थप चार बुलेट ग्यास आउने भएकाले आगामी दिनमा आपूर्ति अझ सहज हुने अपेक्षा छ । ग्याँस व्यवसायीले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर घरमा मौज्दात नराख्न आग्रह गरेका छन् ।
पछिल्ला केही दिनमा बजारमा सामान्य अवस्थाको तुलनामा भरिएका सिलिन्डरको माग अस्वभाविक रूपमा बढेको गृहलक्ष्मी ग्याँसका सञ्चालक धर्मराज बर्तौलाले बताए । करिब पाँच वर्ष पुराना सिलिन्डर एकै पटक बजारमा ल्याइनुका साथै होटल तथा रेस्टुरेन्टमा प्रयोग भइरहेका धेरै सिलिन्डर पनि बजारमा आउँदा आपूर्ति व्यवस्थापनमा थप चाप परेको हो ।
ग्यास बिक्रेता संघ कास्की अध्यक्ष नारायण दाहालले आइतबारदेखि पोखरा क्षेत्रमा ग्याँसको बिक्री सहज गराउने गरी काम सुरु गरिएको बताए । यसअघि शुक्रबार पनि खुद्रा पसलबाट ग्यास वितरण गर्ने योजना बनाइएको भए पनि उपभोक्ता रातिदेखि नै सप्लायर्सका पसलअगाडि लाइनमा बस्न थालेपछि त्यहीँबाट ग्याँस वितरण गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
अब मुख्य डिपोमा मात्रै निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै खुद्रा तहबाट वितरण गरिने भएकाले उपभोक्ताको समय बचत हुनुका साथै भीडसमेत घट्ने अपेक्षा गरिएको छ । प्रशासनले ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा मौज्दात राख्ने वा उपभोक्तालाई समस्या पर्ने गरी बिक्री गर्ने कार्य नगर्न व्यवसायीलाई सचेत गराएको छ ।





