बागलुङ/बागलुङ उद्योग वाणिज्य संघसहितका गैरसरकारी संस्थाहरुको अग्रसरतामा रकम संकलन गरी जिल्ला विपत व्यवस्थापन समितिलाइै नदीजन्य खोजी उद्दारमा आवस्यक पर्ने सामाग्री सहयोग गरिएको छ ।
गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।
सोमबार आायेजित एक कार्यक्रममा ती सामाग्री समितिलाई हस्तान्तरण गरिएको हो । वर्षातमा नदी किनारमा आइपर्ने दुर्घटनाबाट बच्न र बचाउन ती सामाग्रीहरु उपयोगी छन् ।
आइएनएफ नेपालको ३ लाख, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन (एनजिडिएफ) को १ लाख, सिवाईसी नेपालको १ लाख र बागलुङ उद्योग वाणिज्य संघको ५० हजार नगद संकलन गरेपछि नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाको समेत सहयोग मिलाएर ७ लाख ३१ हजार १ सय १० रुपैयाँको लागतमा ती सामाग्री दिइएको हो ।
खोजी उद्दारका लागि चाहिने ¥याफ्टीङ डुंगा, आठ थान लाइफ ज्याकेट, आठ थान नै हेलमेट, आवस्यक डोरी, बनिया लगायतका दर्जनौं सामाग्री किनेर महासंघले दिएको हो ।
गुणस्तरीय कम्पनीमर्फत ती सामाग्री झिकाएर समितिलाई हस्तान्तरण गरिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेलले बताए । ‘विपतजन्य खोजी उद्दारका लागि यो सामाग्रीले ठूलो राहत मिल्ने आस गरिएको छ’ कँडेलले भने, ‘अन्य आवस्यक उपकरणको लागि पनि पहल भैरहेको छ ।’
अत्यावस्यक उपकरणकै रुपमा खोजी उद्दार गर्ने ड्रोन र समितिलाई एक एम्बुलेन्स समेत आवस्यक भएकोले त्यसको समेत श्रोत खोजी भैरहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यसअघि नै गृहमन्त्रालयको परिपत्र अनुसार स्थानीय तहमा आवस्यक सामाग्री जुटाउने निर्णय भएपछि बागलुङ उद्योग वाणिज्य संघले पनि सहयोगको पहल गरिरहेको थियो । यो पहलमा गैससहरुले साथ दिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताए ।
बागलुङ, पर्वत र म्याग्दी जिल्लाको झण्डै एक सय किमी खण्ड कालीगण्डकी नदी किनार पर्ने भएपनि खोजी उद्दारका लागि यस्ता सामाग्री थिएनन् । ती सामाग्री भएमा सशष्त्र प्रहरी बल आश्रित गुल्म र नेपाल प्रहरीको विपत उद्दार गुल्मले दुर्घटना भएमा उद्दारको काम गर्नेछन् । ती दुइ गुल्ममा दक्ष उद्दारकर्मी रहेका छन् । नेपाली सेनाले पनि खोजी उद्दारमा काम गर्दै आएको छ । त्यसका लागि आवस्यक पर्दा प्रहरीले सेनाको पनि साथ लिने छ ।
विपत व्यवस्थापन समितिमार्फत आगोलागी, सडक दुर्घटना, बाढी पहिरोसहितका समस्यामा खोजी उद्दारको काम भैरहेको छ । ती कार्यअन्र्तगत आगोलागी नियन्त्रणका लागि पनि गैससहरुले सामाग्री दिएका छन् । त्यस बाहेक प्रदेश वन डिभिजनले पनि सहकार्य गरेर नियन्त्रणको काममा साथ दिने गरेको छ । बाढी पहिरोतर्फ भने आवस्यक सामाग्रीको अभाव भएकोले पोखराबाट प्रदेश प्रहरी वा अन्य निकायको साथ लिनुपथ्र्यो ।
वर्षातमा कालीगण्डकी नदीसहित सहायक खोला तथा नदीमा अत्याधिक बाढी पहिरो आउने गरेको छ । बाढीपहिरोले धेरै बिनास हुने गरेको तथा कैयौ मानिस र पशुचौपाया बेपत्ता हुने गरेकोले ती सामाग्रीमार्फत उद्दार गरी धनजनको नोक्सानी हुनबाट जोगाउन सकिने जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । यस्ता प्रकारका सामाग्रीहरु हरेक स्थानीय तहमा समेत राख्न उनले आग्रह गरेका छन् । विद्युतीय रुपमा आगोलागी भएमा निभाउने सामाग्रीहरु त वडा तहमा पनि राख्न आवस्यक भैसकेको उनको सुझाव थियो ।





