बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

खाँट्टी मधेसी, सच्चा नेपाली

खाँट्टी मधेसी, सच्चा नेपाली

फरक समुदायबीच बैमनस्यको झिल्को बेला बेलामा दन्किने गरेको मधेसमा सहिष्णुता, एकता र सम्मानका पर्याय गुरुबाट हामीले केही सिकौं


  • फडिन्द्र अकिञ्चन
  • साउन २७ २०८३, बुधबार

कास्की/जनकपुरधामको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा मधेसी समुदायका विद्यार्थीको बाहुल्य छ । प्राध्यापकहरू पनि मधेसी नै भएपछि भाषा पनि मधेसकै हुने भइहाल्यो । नेपाली वा अंग्रेजीमा पढाउँदा पनि थप प्रष्ट पार्नुपरे मैथिली बोलिन्छ । अर्थात्, यहाँ सिकाई होस् कि बोलीचाली मैथिली नै प्रयोग हुन्छ । मधेस आन्दोलनको केन्द्र बनेको जनकपुरमा पहाडी जस्ता देखिने पृथक खालका प्राध्यापक थिए डा राजेन्द्र विमल ।

खासमा उनी सहप्राध्यापक थिए; राजनीतिक र गुटगट कारणले उनी प्राध्यापक बन्न नसकेको, ठूला कक्षामा पढाउन नदिइएको चर्चा २०५९ ताकै सुनिन्थ्यो । उनी सहप्राध्यापकबाटै निवृत्त भए; सोमबार राति आफ्ना कृति र स्मृति छाडेर यो संसारबाट बिदा भए ।

डा विमलले हामीलाई प्रविणता प्रमाणपत्र तहमा अनिवार्य नेपाली पढाएका थिए । खासमा हाम्रो कक्षाका धेरैजसो क्याम्पस जाने विद्यार्थीले राम्ररी बुझ्ने भनेकै उनको कक्षामात्र थियो । अधिकांश प्राध्यापक कक्षामा आउँथे; तीन÷चार वटा पाठ एकै दिन सक्थे । थप केही सोधे जवाफ दिन्थे, ‘टिचर इन वान्ली वान गाइड, यु ह्याभ टु रिड योरसेल्फ ।’ खासमा सबैजसो शिक्षको गुदी कुरो हुन रहेछः राम्ररी पढ्न मन भए मेरो ट्युसन कक्षामा आऊ ।

ढाका टोपी ढल्काएर, पान चपाउँदै आउने विमल सरको कक्षा अक्सर भरिभराउ हुन्थ्यो । उनको पढाउने कक्षा गज्जबको थियो । नेपाली साहित्य पढाउँदा अनेक उदाहरण दिन्थे; नबुझ्नेलाई मैथिलीमा बुझाउँथे । केही भारतीय मूलका विद्यार्थी पनि थिए; उनीहरूको अनुहार हेर्दै हिन्दीमा प्रकाश पार्थे । सन्दर्भ आउँदा अंग्रेजी साहित्य, दर्शन र भाषा पनि बडो शुद्ध र स्पष्टसँग बोल्थे ।

मलाई विमल सरको व्यक्तित्वले नराम्ररी तान्यो । नेपाली, अंग्रेजी, हिन्दी, मैथिली चार वटा भाषाको गहिरो ज्ञान सम्भव हुने रहेछ भन्ने लाग्यो । अंग्रेजी भाषाको विद्यार्थी मैले नेपाली पढ्न सुरु गरेँ, प्रविणता प्रमाणपत्र तहका दुवै वर्षका कोर्स पढेँ । पछि नेपालीमा स्नातकोत्तर गर्दासम्म पनि उनको व्यक्तित्वले मलाई प्रेरण दिइरह्यो, सधैं दिइरहनेछ ।

समयमै आउने, पूरै समय पढाउने र यथाशक्य बुझाउने डा विमलप्रति विद्यार्थीको सहानुभूति थियो । उनलाई पदोन्नति नगरिएको, प्रशासन र राजनीतिज्ञले भेदभाद गरेको चर्चा थियो ।अर्कातिर, मधेसको केन्द्रमा ढाकाटोपी लाएर आउने मधेसी शिक्षकलाई मधेसीहरुले पनि निको मान्दैनथे ।धनुषाको जनकपुरधामदेखि डेढ माइलको ग्रामीण विपन्न परिवारमा जन्मिएका उनको बाल्यकाल संघर्षपूर्ण थियो ।

विभिन्न अन्तर्वार्तामा उनले बाल्यकालमा प्याज खान पाउँदा पनि असीम खुसी भएको उल्लेख गरेका छन् । नेपाली र मैथिली भाषामा कृतिसमेत प्रकाशन गरेका उनी भन्थेः ‘प्राथमिक पाठशालादेखि नै पढाए पो भाषाको खुट्टा बलियो हुन्छ र त्यो हिँड्छ । जग नै नभएपछि टाउकोले हिँड्न बाध्य भइरहेको छ । टाउकोको बलमा रेशमा किन अगाडि आउँदैनस् भनेर भनिन्छ ।’

गाउँ जस्तो जनकपुरमा करिब आठ वर्षको उमेरमा कखरा सिकेका विमलले पछि वनारसबाट भाषाविज्ञान विद्यावारिधि गरेका थिए । काठमाडौंको पद्यकन्या क्याम्पसको आंशिक प्राध्यापकबाट अध्यापन सुरु गरेका उनले करिब चार दशक त्रिभुवन विश्वविद्यालयमा पढाएका थिए । मान्छेको जीवनबारे उनले भनेका थिए, ‘जीवनको सम्पूर्ण यात्रा बोधको यात्रा हो । समुद्रको दुई अज्ञात किनारको बीचको यात्रा हो जीवन। एउटा जन्म र अर्को मृत्यु ।’ उनकै शब्दमा अर्काे किनारतिर उनको यात्रा सुरु भएको छ । फरक समुदायबीच बैमनस्यको झिल्को बेला बेलामा दन्किने गरेको मधेसमा सहिष्णुता, एकता र सम्मानका पर्याय गुरुबाट हामीले केही सिकौँ । यही नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि ठहर्छ ।
हार्दिक श्रद्धाञ्जली गुरू !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->