स्याङ्जा/एकीकृत सेवा कार्यालय स्याङ्जा र जिल्लामा रहेका उद्योग तथा व्यवसायीका संघ, संस्थाका नेतृत्वकर्ताबीच अन्तक्र्रिया भएको छ । कार्यालयको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै उद्योग, व्यापार र पर्यटन क्षेत्रको बहुआयमिक विकासमा हातेमालो गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा उद्योग तथा व्यवसायको दर्ता, नवीकरण, खारेजी, नामसारी लगायतका पक्षमा सरलीकरण गरी सेवा प्रवाह गर्ने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, सीपमूलक तालिम र अनुदानका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । उत्पादनलाई गुणस्तरीय बनाउने र समग्र स्याङ्जाको व्यावसायिक क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा संघ, संस्थाका प्रतिनिधिको एक मत रह्यो ।
कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, चेम्बर अफ कमर्स स्याङ्जा अध्यक्ष श्रीबहादुर गुरुङ, उपभोक्ता हित संरक्षण मञ्च स्याङ्जा अध्यक्ष राजेन्द्रप्रसाद मरासिनी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम श्रेष्ठ, होटल व्यवसायी संघ स्याङ्जाका महासचिव ओमप्रकाश पौडेल, वालिङ उद्योग वाणिज्य संघका महासचिव विमल अर्याल र कार्यकारी सचिव बाबुराम रेग्मी, ब्युटी पार्लर एसोसियसन स्याङ्जा उपाध्यक्ष माया गोर्खाली, महिला उद्यमी संघ स्याङ्जा अध्यक्ष चन्द्रकला राना, लगायतले बोलेका थिए ।
उनीहरुले राज्यले व्यवसायी मैत्री वातावरण बनाउँदै जानुपर्ने जनाउँदै निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको सुनाए । गण्डकी प्रदेश सरकारको आर्थिक ऐनले विभिन्न समयमा दर्ता भई हालसम्म नवीकरण नगरेका उद्योग, वाणिज्य र पर्यटन व्यवसाय सञ्चालकले २०८४ वैशाख मसान्तसम्म नवीकरण वा खारेजीकालागि निवेदन दिएमा नियमअनुसार लाग्ने शुल्क र दस्तुर बुझाएमा सबै जरिवाना छुट दिएकोमा उनीहरुले धन्यवाद दिए ।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले यस किसिमको कार्यक्रमले सरकार र निजी क्षेत्रको सम्बन्ध सुमधुर हुनुको साथै कार्यालयबाट प्रवाह हुने सेवामा सुधार गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाका लेखा अधिकृत ईश्वर आचार्यले करदाता शिक्षालाई सबै व्यवसायीसम्म पु¥याउनुपर्नेमा जोड दिए ।
जिल्लाका ११ वटै स्थानीय तहका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया गरी प्राप्त सुझावहरु कार्यान्वयन गरिने उनको भनाइ छ । कार्यक्रममा एकीकृत सेवा कार्यालयका अधिकृत खुमलाल ढकालले पनि बोलेका थिए ।





