पोखरा/पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगम पृथ्वीचोक धेरै गाडीको प्रस्थान या गन्तव्य विन्दु हो । यहाँको पोखरा बसपार्क सुकुम्बासी बस्तीले भरिँदा सडक नै बसपार्क बनेको थियो । यो बसपार्क खाली गर्ने अभियान सुरु भएपछि पोखराबाट छुट्ने लामो दूरीका बस अब बसपार्कभित्रै बाट चल्ने भएका छन् ।
तीन वर्षअघि पनि पृथ्वीचोकको अस्तव्यस्त सडक व्यवस्थित बनाउन यस्तो प्रयास भएको थियो । त्यो बेला केही दिनमै यो अभियान रोकिएको थियो । मंगलबारदेखि पोखरा भित्रिने र बाहिरिने सवारी साधन फुटपाथबाट नै छुट्ने क्रम बन्द गरिएको छ । अब बसहरूमा यात्रु चढाउने र अन्तिम विन्दुका रुपमा ओराल्ने बसपार्कभित्रै गर्न थालिएको छ ।
फुटपाथमा पार्किङ र यात्रु ओराल्ने÷उकाल्ने कार्यलाई प्रतिबन्ध गर्न ट्राफिक प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ, पोखरा महानगरपालिका, ट्याक्सी व्यवसायी लगायतले पहल गरेका छन् । मंगलबार र बुधबार फुटपाथ क्षेत्रका सवारी साधनलाई बसपार्कमा पठाएर त्यो क्षेत्र खाली गराइएको छ ।
पर्यटकीय राजधानी पोखरा प्रवेश गर्नेबित्तिकै यातायातको भद्रगोल देखिने गरेको थियो । पृथ्वीचोकको सौन्दर्यकरण र ट्राफिक व्यवस्थापनका लागि आफूहरु फिल्डमा खटेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले सुनाए । अब यसलाई निरन्तरता दिने र फुटपाथमा सवारी लैजाने, यात्रु चढाउने÷ओराल्नेलाई कारबाही हुने उनले प्रष्ट्याए ।
‘बसपार्कलाई व्यवस्थित गर्ने क्रम सुरुवात भएको छ । केही हदसम्म बसपार्कको पनि पुनर्निर्माण भइराखेको छ,’ उनले भने, ‘सवारी साधनहरू यसरी बाटोमा राख्ने, पार्किङ गर्ने र पैदलयात्रीका लागि बनाइएका फुटपाथमा गाडी राख्ने क्रम अब हट्छ । काउन्टरहरूमा यात्रु तानातान गर्ने, अव्यवस्थित पनि भएको सुनिएको छ । त्यसलाई पनि व्यवस्थापन गर्छाैं ।’
यो निर्णय कार्यान्वयन गर्दा समस्याहरू अए सरोकारवालाबीच समन्वय र छलफल गरी सुल्झाउने तर निर्णय लागू हुने उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जनपथ, ट्राफिक प्रहरी, महानगर प्रहरी र यातायात व्यवसायीको समेत निगरानीमा फुटपाथ र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले भद्रगोल सडकलाई व्यस्थित गर्न पृथ्वीचोकमा खटिएको बताए । बसपार्क बन्ने पक्का भएकाले यो अभियानमा व्यवसायीहरूको पनि साथ रहेको उनको भनाइ छ । ‘यसो गर्न ऊ बेला त पहिला पृथ्वीराजमार्ग स्वयम्ले अवरोध गरेको थियो । अहिले पृथ्वीराजमार्ग आफैंले बसपार्क जानुपर्छ भनेको छ,’ उनले भने, ‘अब बसपार्कको अगाडिका भाग खाली छ । तर त्यहाँबाट निस्किने बाटोचाहिँ महानगरपालिकाले तयार गर्दिनुप¥यो ।’ यातायात मजदुर हरिराम धितालले हिजोको पोखरा र आजको पोखरामा धेरै भिन्नता भएको सुनाउँदै प्रविधिको समयमा समेत बसपार्क प्रविधिमैत्री बन्न नसकेको सुनाए । बसपार्कबाट बस चलाउने विषयमा सबै मजदूरको समर्थन रहेको उनले जनाए ।





