बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३
  • २८ साउन २०८३ , बिहिबार
  • August 13 2026

अग्निपथ खुला गर्न दबाब

अग्निपथ खुला गर्न दबाब


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८३, बिहिबार

पोखरा/भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्न र भूतपूर्व सैनिकका संघ, संस्थाको नवीकरण खुलाउन माग गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरा रंगशालादेखि ¥यालीसहित जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिँदै ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

भारत सरकारले सन् २०२२ जुन १४ देखि ल्याएको ‘अग्निपथ’ योजनापछि नेपाल सरकारले विभिन्न कारण देखाउँदै नेपाली युवालाई भारतीय सेनामा भर्ती हुन रोक लगाएको संस्थाका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले बताए । यसका कारण लाखौं नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको र देशमा आउने ठूलो परिमाणको रेमिट्यान्स तथा कल्याणकारी सुविधाहरू गुम्ने खतरा बढेको उनको दाबी छ ।

गृह मन्त्रालयको २०८१ वैशाख ४ गतेको सचिवस्तरीय निर्णयले ‘सैनिक’ शब्द प्रयोग भएका संघ–संस्थाको नवीकरण रोकेको प्रति पनि ब्रिगेडले आपत्ति जनाएको छ । संस्थाको नाममा ‘सैनिक’ शब्द भएकै कारण २ वर्षदेखि संस्था नवीकरण हुन नसक्दा भूपू सैनिकहरूले सास्ती व्यहोर्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

भुपु गोर्खा विग्रेड नेपाल पुर्व अध्यक्ष गजबहादुर गुरुङले राज्यले बेरोजगार युवाको रोजीरोटी खोस्ने काम भएको जनाए । भारत सरकारले सन् २०२२ को जुनमा अग्निपथ योजना ल्याएको थियो । जसअन्तर्गत सैनिकहरुलाई ४ वर्षको मात्र करार अवधिमा भर्ना गरिन्छ, पेन्सन सुविधा हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->