पोखरा/ अविरल वर्षापछि मोदीखोलामा आएको बाडीले कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित अन्नपूर्ण मन्दिर र बेलीब्रीज बगाएको छ । मन्दिरका पूजारीसहित ३ जना खोलाको बीचमा फँसेका छन् । उनीहरुको उद्धार कार्य जारी छ ।
विहीबार रातीको वर्षाका कारण मोदीखोलामा बाढी आएको थियो । प्रहरीचौकी नयाँपुलका प्रहरी सहायक निरीक्षक रमेश अधिकारीका अनुसार खोलाबीचको सानो भग्नावशेषमा तीनजना फँसिरहेका छन् । अहिले डोरीको सहायताले उनीहरुको उद्धार कार्य जारी छ ।
बाढी आएर तीनजना फँसेको खबर पाउन साथ शुक्रबार बिहान साढे १ बजेतिर अधिकारीको कमाण्डमा ४ प्रहरीको टोली खटी गएको थियो । साथै सशस्त्र सशस्त्र प्रहरी बल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १३ जना (विपद व्यवस्थापन टोली) खटि गएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका निमित्त प्रमुख डिएसपी बीरेन्द्रकुमार पासवानका अनुसार निरन्तर वर्षा भई पानीको बहाव बढेकाले समस्या भएको हो ।





