पोखरा/ अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुक जाने सडक ठाउँठाउँमा अवरोध भएको छ । बाढीका कारण पर्यटकीयस्थल बिरेठाँटी बजार पनि उच्च जोखिममा पुगेको छ ।
प्रहरीका अनुसार घान्द्रुक जाने सडक अन्तर्गत बिरेठाँटी बजारमा झन्डै २ सय मिटर सडक बगेको छ । यसेगरी स्याउलीबजारमा २५० मिटर, सिमरुङमा २०० मिटरजति सडक बगेको प्रहरीले जनाएको छ ।
प्रहरीचौकी बिरेठाँटीका प्रमुख प्रहरी नायव निरीक्षक डिलबहादुर भण्डारीका अनुसार मोदी खोलामा आएको बाढीले बिरेठाँटी बजारका विजय गुरुङ र सिमरुङका माया पाइजाको घर जोखिममा परेको छ । पाइजालाई बिहानै सुरक्षित स्थलमा सारिएको थियो ।
गुरुङको घर झुन्डिएको अवस्थामा पुगेको छ । ‘बिहीबार रातीदेखि मोदीखोलामा बाढी आएको थियो’, प्रनानि भण्डारीले भने, ‘मोदीखोलाका कारण बिरेठाँटी बजार जोखिममा परेको छ । घान्द्रुक जाने सडक ५ ठाउँमा अवरुद्ध भएको छ ।’ घटनास्थलको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुरुङ, डिएसपी बीरेन्द्रकुमार पासवानलगायतले निरीक्षण गरी फर्किएका छन् ।
यसैगरी मोदीखोलामा आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित अन्नपूर्ण माता मन्दिर बगाएको छ । यसैगरी उक्त पुल लगायत पर्वतको मोदी गाउँपालिकातर्फ आवतजावत गर्ने २ वटा बेलीब्रिज (फलामे पुल) पनि बगाएको नयाँपुल प्रहरी चौकीका प्रमुख प्रसनि रमेश अधिकारीले बताए ।





