मुस्ताङ/ जिल्लाको घरपझोङ गाउँपालिकाले आगामी भदौ ३० र ३१ गते जलवायु सम्मेलन गर्ने भएको छ । सम्मेलनका लागि गाउँपालिकाले देशका सबै ७५३ वटै स्थानीय तहहरुलाई ईमेलमार्फत सहभागिताका लागि पत्राचार गरेको छ ।
जलवायु परिवर्तनको असरले पु¥याएका समस्या, चुनौति र जलवायु अनुकुलन लगायतक विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले घरपझोङले जलवायु परिवर्तनसम्बन्धि सम्मेलनको आयोजना गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले संघीय मामिला मन्त्रालयको समन्वयमा सबै स्थानीय तहहरुलाई उपस्थिती हुन पत्रचार गरेका हुन् । सम्मेलनले जलवायु संकटले हिमाल, पहाड र तराई क्षेत्रमा पुर्याएको असर सम्वन्धी विश्लेषण, एजेण्डा र जलवायु परिवर्तन सम्वन्धी सामुहिक ऐक्यवद्धता तय गरी जलवायु परिवर्तन सम्वन्धी घरपझोङ घोषणापत्र २०८३ जारी गर्ने छ ।
सम्मेलन सदरमुकाम जोमसोममा हुनेछ । जलवायु परिवर्तनका कारण नेपालका सबै स्थानीय तहहरुमा सिर्जित अवस्था, प्रकोप र असरहरुको पहिचान गर्दै असर न्यूनिकरणका उपाय एवं रणनीतिहरुको बारेमा कालिगण्डकी नदी तट, मुक्तिनाथ धाम, निलगिरी हिमालको काखमा बसेर बृहत्तर रुपमा छलफल गरी हिमालपारीको जिल्लाबाट जलवायु घोषणापत्र जारी गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । सम्मेलनपछि जारी हुने घोषणापत्रले राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायहरुको ध्यान केन्द्रित गर्न संयुक्त आवाज बुलन्द गर्ने सम्मेलनको उद्देश्य रहेको उनकाे भनाइ छ ।
घरपझोङ जलवायु सम्मेलनमा उपस्थित हुन ७५३ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरुसहित एक जना प्रतिनिधि सामेल गरी एक स्थानीय तहबाट दुई जना प्रतिनिधिलाई निम्तो पठाएको हो । सम्मेलनमा जलवायु परिवर्तनको असर सम्वन्धी फोटो प्रर्दशनी हुने भएकाले सबै स्थानीय तहहरुले भदौ १५ गते भित्र सम्वन्धीत स्थानीय तहहरुले जलवायु असर सम्वन्धी फोटो र घोषणापत्रमा समेटिने विषय उल्लेख गरी भदौ १५ गतेभित्र पठाउन अनुरोध गरिएको छ ।
गाउँपालिकाले गत वर्ष नै यस्तो सम्मेलन गर्न लागेको थियो । यसका लागि तयारी भइरहेका बेला जेनजी आन्दोलनका कारण त्यो सम्मेलन रोकिएको थियो ।





