बागलुङ/सत्यसाई केन्द्र बागलुङको आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय दुइ दिने सिर्जनात्मक बाल कार्यक्रम बागलुङमा शुरु भएको छ । शनिबार उक्त कार्यक्रम बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे ।
गण्डकी प्रदेशभित्रका विभिन्न केन्द्रमा आबद्द भएका बालबालिका, तिनका अभिभावक र शिक्षकको सहभागितामा आधा दर्जन क्रियाकलापसहित कार्यक्रम शुरु भएको हो ।
बागलुङको केन्द्र, राधा कृष्ण मन्दिर लगायतको स्थानमा बालबालिकाको वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ, कविता लेखन, निबन्ध लेखन, कथा लेखन, गीत संगीत, भजन लगायतका प्रतियोगितात्मक क्रियाकलाप आयोजना हुने आयोजक सत्यसाई केन्द्र गण्डकीका अध्यक्ष टंकनाथ रेग्मीले बताए ।
प्रतियोगितामा भाग लिन एक सय बालबालिका आएका छन् भने कार्यक्रममा १ सय ९० बढी सहभागि रहेको जनाइएको छ । बागलुङ केन्द्रका केही बालबालिका र अभिभावक यहाँ सहभागि छन् भने अन्य पोखरा, स्याङजा र गण्डकी प्रदेशका अन्य जिल्लाका छन् । गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाका २७ स्थानमा सत्यसाई केन्द्र स्थापना भएर संचालनमा आएका छन् ।
साईबाबालाई मान्ने र धार्मिक तथा अध्यात्मको विकास गर्ने, अनुशासनमा राख्ने लगायतको कामका लागि केन्द्रले बालबालिकादेखि सबै उमेर समूहका मानिसमा काम गर्दै आएको छ । विशेषगरी मानवसेवा, सत्बिचार र अध्यात्मको विकास गर्न केन्द्र क्रियाशिल छ ।
सत्यसाई केन्द्र बागलुङका संस्थापक कृष्णबहादुर श्रेष्ठले यस्ता क्रियाकलापले बालबालिकामा क्रियाशिलता बढाएको र अभिभावकमा पनि नयाँ सोचको विकास भएको बताए ।
केन्द्रको गण्डकी प्रदेश समितिले हरेक वर्ष बालबालिकाको सम्मेलन र सिर्जनशिल प्रतियोगिता गर्दै आएको छ । गत वर्ष यो कार्यक्रम स्याङ्जामा आयोजना गरिएकोमा अहिले बागलुङले चासो लिएर गरिएको केन्द्रका अगुवा बसन्तजंग राजभण्डारीले बताए ।





