पोखरा / नेपालमा विद्युतीय सवारी (इभी) को मुल्य निकै महँगो र चार्जिङका लागि पूर्वाधार नभएको पाइएको छ । रेज कन्सल्ट प्रा. लि.ले तयार गरेको “नेपालमा इभी अपनाउने अवस्था सम्बन्धी अध्ययन“ को प्रारम्भिक निष्कर्षमा अधिकांशको गुनासो उच्च मुल्य र चार्जिङ पूवार्धारमा रहेको भेटिएको हो ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले नासा फाउन्डेसन नेपालको सहकार्यमा साउन २९ गते रोयल ट्यूलिप काठमाडौं, ग्वार्काेमा सरोकारवाला परामर्श कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा उक्त प्रतिवेदन सार्वजानिक भएको थियो । रेज कन्सल्टका प्रबिन सिंहले प्रस्तुत गरेको प्रतिवेदनमा सात वटै प्रदेशका दुई हजार ६७ जनामा अध्ययन गरिएको थियो ।
अध्ययनका अनुसार ७८% इभी प्रयोगकर्ता सन्तुष्ट पाइएका छन् भने ५१.९% ले आगामी सवारी साधन इभी नै किन्ने बताएका छन् । तर उच्च मूल्य (४८%), चार्जिङ पूर्वाधारको अभाव (४३.६%), ब्याट्री सम्बन्धी चिन्ता (४२.५%), र सुरक्षा नियमनप्रतिको कमजोर विश्वास (५४.१%) प्रमुख अवरोधका रूपमा देखिएको सिंहले बताए ।
अध्ययनले वित्तीय प्रोत्साहन, चार्जिङ पूर्वाधार, सुरक्षा मापदण्ड, जनचेतना, सार्वजनिक यातायातको विद्युतीयकरण, र संस्थागत समन्वय गरी छ नीतिगत आधारस्तम्भको प्रस्ताव गरेको छ, जुन प्रतिक्रियाका आधारमा थप परिमार्जन हुन सक्ने उनले जनाए ।
सहभागीहरूले अध्ययन परिष्कृत बनाउन सुझाव समेत दिएका थिए । सांसद गीता गुरुङले ब्याट्री विसर्जन र पुनर्बिक्री मूल्यमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सोटेन हरेराम श्रेष्ठले सरकारी सवारी साधन शतप्रतिशत इभीमा रूपान्तरण र वायु गुणस्तर तथ्याङ्कको उल्लेख गरे । इसिमोडका सागर अधिकारीले भारी सवारी साधनको रेट्रोफिटिङ सम्बोधन गरे । नासा नेपालले यो अध्ययन नेपाल इभीको लागी केवल सुरुवात रहेको र विशेषज्ञ प्रतिक्रियालाई अध्ययनको निष्कर्ष र सिफारिस समावेश गरि अझ प्रभावकारी बनाउने जनाएको छ ।
एफआईए सेफ एण्ड सस्टेनेबल मोबिलिटी ग्रान्टको सहयोगमा भइरहेको “ईभिजन नेपालः ड्राइभिङ द फ्युचर” कार्यक्रम अन्तर्गत गरिएको यस अध्ययनका सहित ४ वटा क्षेत्रीय पोलिसि डाइलग, १ राष्ट्रिय कार्यशाला तथा ९० जना पत्रकारलाई तालिम गरिने कार्यक्रम रहेको छ र प्रत्यक्ष कार्यक्रम, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत करिब १ लाख मानिससम्म जनचेतना तथा प्रचारप्रसार पु¥याउने लक्ष्य रहेको छ ।





