पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षायाममा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आउने लेदोसहितको बाढी (डेब्रिस फ्लो) बाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आज एक सूचना जारी गर्दै अविरल वर्षाका कारण नदी तथा खोलाको प्राकृतिक बहावमा वृद्धि भई जलसतह बढ्ने, आकस्मिक बाढी तथा भेल आउने, नदी–खोला आसपास पहिरो जाने र बाटो भासिन सक्ने जोखिम रहेको जनाएका हुन् । पानी परेपछि चर्को घाम लाग्दा समेत सुख्खा पहिरो खस्न सक्ने तथा एक्कासि खोला थुनिएर वा खोलिँदा माथिल्लो भागबाट पहिरोसहितको लेदो आउने सम्भावना रहेको प्रशासनले जनाएको छ ।
प्रशासनले यस्तो जोखिमपूर्ण समयमा नदी तथा खोलाको किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, ढुंगा–बालुवा–गिटी निकाल्ने, गाईवस्तु चराउने तथा पानी खुवाउनेजस्ता कार्य नगर्न आग्रह गरेको छ । साथै नदी तथा खोला किनारमा भलिबल, फुटबल, क्रिकेटलगायत बाहिरी खेल नखेल्न र अभिभावकले बालबालिकाको निगरानी गर्न अनुरोध गरिएको छ ।
नदी–खोला किनार तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई पानीको बहाव र जलसतह बढ्न थालेमा तत्काल सुरक्षित स्थानमा सर्न तथा आवश्यक सामग्री सुरक्षित राख्न प्रशासनले आग्रह गरेको छ । त्यसैगरी चालकहरूलाई नदी तथा खोलाको किनारमा पर्ने सडक र बजार क्षेत्रमा सवारीसाधन रोक्ने वा पार्किङ नगर्न भनिएको छ ।
बाढी वा अन्य विपद्को आकस्मिक अवस्था आएमा नजिकको प्रहरी, निःशुल्क आपत्कालीन नम्बर १०० वा विपद् सूचना तथा उद्धार टोल फ्री नम्बर ११३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ।
खोलाले बगाएर पोखरामा ३ जना बेपत्ता
पोखरामा अविरल वर्षापछि खोलाको बहाव बढ्दा ३ जना बेपत्ता भएका छन् । पोखरा–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका हुन् । शिशुवामा पनि खोला तर्ने क्रममा अर्का एकजना बेपत्ता भएका छन्, जसको पहिचान खुल्न बाँकी छ ।

सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका हुन् । पोखरा १४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । वारिबाट फुटबल खेल्न पारि जाँदा विजयपुर खोलाले बगाएर बेपत्ता हुनेमा खोटाङ घर भई हाल पोखरा १४ चाउथेमा डेरा गरी बस्ने सुवास राईका १५ वर्षीय छोरा ओमन राई छन् ।
त्यस्तै, स्याङ्जा घर भइ पोखराको छिनेडाँडा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ पनि शनिवारदेखि बेपत्ता छन् । उनीहरुको खोजी जारी छ । शिशुवामा पनि खोला तर्ने क्रममा अर्का एकजना बेपत्ता भएका छन् । उनको पहिचान खुल्न बाँकी छ । उनको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।





