बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मा पुरस्कृत भएकी छन् । शर्मालाई ढोरपाटन दैनिकको २४ औं वार्षिकोत्सवको अवसरमा सोमबार ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कारसहित सम्मान गरिएको हो ।
ढोरपाटन दैनिकका पुर्व अध्यक्ष कृष्णमैया अधिकारीले आफ्ना बाबु स्व. टिका बहादुर राजभण्डारी र आमा स्व. विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा स्थापना गरेको ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट उनी सम्मानसहित पुरस्कृत भएकी हुन् । उनलाई नगद १० हजार १ सय ११ रुपैयाँ पुरस्कार सहित सम्मान पत्र प्रदान गरियो ।
२०६४ सालदेखि ढोरपाटन दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको कार्यसमिति सदस्य हुन् । उनी प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको उपाध्यक्ष समेत हुन् ।
शर्मालाई पुरस्कार कोषका संस्थापक समाजसेवी सहदेव राजभण्डारी, गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोबिन्द बहादुर नेपाली, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायणले गौतमले संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।
पुरस्कार ग्रहण गर्दै शर्माले पुरस्कारले आफुले गर्दै आएको पत्रकारिताको कदर भएको र अझै थप केही गर्नुपर्छ भन्ने जिम्मेवारी बढेको महशुस भएको बताईन् ।
सो पुरस्कार ढोरपाटन दैनिकले आफ्नो बार्षिकोत्सवको अवसरमा वितरण गर्दै आइरहेको कार्यकारी सम्पादक रामकृष्ण बोहराले बताए ।





