बागलुङ (खर्वाङ)/गत साउन २८ गते झिस्मिसेमै घरमाथि पहिरो खस्यो । बिहानमा पहिरो खसेको कारण मानविय क्षति टर्यो । पश्चिम बागलुङ निसीखोला गाउँपालिका–२ धाराटोल छिपछिपेकी पार्वती घर्ती श्रीमानसंगै घरगोठको काममा थिईन् । पहिरो गएको थाहा पाएपछि ज्यान जोगाउन त सफल भईन् तर घरगोठमा क्षति पुग्यो ।
उनलाई थाहा भएसम्म त्यहाँ अहिलेसम्म पहिरो गएको छैन । उनको घर, गोठ शौचालय पुर्ण रुपमा क्षति भएको छ । “अहिलेसम्म यसरी कहिल्यै पहिरो गएको थाहा छैन । बिना योजना नयाँ बाटो खोल्दा दुःख पाउनु प¥यो” उनले गुनासो सुनाइन् ।
उनी आफै पनि बिरामी छिन् । पहिरो गएको रातबाट छिमेकीकोमा रात बिताउँदा आफुलाई निकै सास्ती भएको उनले बताइन् । सोही दिनबाट उनी आफन्तको घरमा बसेकी छिन् ।
निसीखोला गाउँपालिका–२ को उपल्लोबेंग्री जनप्रिय हुँदै बाँसखोला काल्नेचौर सडकअन्तर्गत हाडिचारबाट गत साउन २८ गते पहिरो खस्दा वडाध्यक्ष कुविर विश्वकर्माको घरसहित धाराटोलका नौ घर गोठमा पुर्ण रुपले क्षति पुगेको वडाध्यक्ष विश्वकर्माले बताए ।
पहिरोपछि जिल्ला विपद् व्यवस्थापन, पालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा प्राविधिकको स्थलगत अनुगमनपछि ४४ घर जोखिममा देखिएका छन् । जसमध्ये १७ घर उच्च जोखिममा छन् ।
अहिले जेखिममा परेका सबै परिवार र वस्तुभाउ सुरक्षित स्थानमा सारेर पहिरोको हटाउने काम भईरहेको वडाध्यक्ष विश्वकर्माले जानकारी दिए । २८ गतेको पहिरो पछि ठुलो चट्टान सहितको पहिरो जोखिम बनेको थियो । प्रहरीले पनि स्थानीयलाई सुरक्षित स्थानमा रहन माईकिङ गरिरहेको छ ।
“हामीले जोखिम कम गर्न पहिरोे हटाउने काम शुरु गरिसकेका छौ” विश्वकर्माले भने “स्थानीय रत्नराज्य माविलाई आश्रयस्थलको रुपमा तोकेर प्रहरी तथा सेना र प्राविधिकको सहयोगमा पहिरो हटाउने र प्रभावितको बसाई व्यवस्थापनको काम भइरहेको छ ।”
पहिरोबाट धाराटोलमा वडाध्यक्ष कुविर विश्वकर्मासहित धनबहादुर घर्ती, तारा बहादुर घर्ती, दिपक परियार, ज्ञानबहादुर परियार, राजन परियार, विरु घर्ती, देविराम घर्ती र यम कुमारी विकको घर पुर्ण रुपमा क्षती पुगेको वडा सदस्य तमबहादुर कुँवरले जानकारी दिए ।
वडाले अहिले पालिकाको समन्वयमा पहिरो व्यवस्थापनको काम गरिरहेको उनले जानकारी दिए । वडा सदस्य कुँवरका अनुसार, वडाले पहिरो गएलगत्तै प्रभावित १५ घरधुरीलाई त्रिपाल समेत तत्काल वितरण गरेको थियो ।





