पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रण तथा समुदाय–विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ।
जिल्ला प्रहरी तथा मातहतका कार्यालयबाट साउन महिनामा १६८ वटा मुद्दा दर्ता भएका छन्। तीनमा जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १३, आर्थिक अपराधका ५३ र अन्य अपराधका ८२ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
चालु मुद्दाका १८१ जना प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनतर्फ फरार रहेका ६७ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५८ पुरुष र ९ महिला छन्। फरार प्रतिवादी पक्राउबाट ८ वर्ष ७ महिना ११ दिन कैद ठेकिएको तथा ३७ लाख ९६ हजार ५२० रुपैयाँ बिगो असुल गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ साउनमा सामाजिक हिंसाका १०० वटा ठाडो उजुरी परेको छ। उजुरीमा १८ देखि २५ वर्ष उमेर समूहका १३ पीडित र ७ पीडक, २६ देखि ३५ वर्षका ४४ पीडित र ४५ पीडक, ३६ देखि ४५ वर्षका २६ पीडित र ३८ पीडक, ४६ देखि ६० वर्षका १४ पीडित र १२ पीडक तथा ६० वर्षभन्दा माथिका ३ पीडित र २ पीडक रहेको विवरणमा उल्लेख छ।
यसअनुसार सामाजिक हिंसाका घटनामा १०० जना पीडित र १०४ जना पीडक रहेको प्रहरीले जनाएको छ। घरेलु हिंसातर्फ ३८ वटा घटना भएका छन्। तीमध्ये ११ वटामा मिलापत्र गरिएको, १० वटा अदालत तथा अन्य कार्यालयमा पठाइएको र १७ वटा बाँकी रहेको छ।
सबैभन्दा धेरै सामाजिक तथा घरेलु हिंसाका घटना पोखरा महानगरपालिका र सबैभन्दा कम घटना मादी गाउँपालिकामा भएको छ। साउनमा महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिक गरी ६५ जना हराएको निवेदन परेको छ। हराउनेमा २९ महिला, १६ पुरुष, १६ बालबालिका र ४ ज्येष्ठ नागरिक छन्। उनीहरुमध्ये ५६ जना फेला परेका छन्। फेला पर्नेमा २५ महिला, ११ पुरुष, १६ बालबालिका र ४ ज्येष्ठ नागरिक छन्। अघिल्लो महिनामा हराएका १५ जना पनि साउनमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीमा प्रत्यक्ष निवेदनबाट प्राप्त ४०९ वटा ठाडो उजुरी सबै फर्छ्यौट भएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ७० वटा उजुरी पनि सबै फर्छ्यौट गरिएको छ। साउनमा प्रहरीले विभिन्न प्रकारका लागुऔषध बरामद गरेको छ। ब्रुफिन ४७५ एम्पुल, डाइजापाम ४६९ एम्पुल, फेनारगन ४७६ एम्पुल, ब्राउनसुगर १८९.११८ ग्राम, ट्यापेण्डाडोल १० हजार १६६ ट्याब्लेट, गाँजा १० किलो ४५० ग्राम र ट्रामाडोल ७९० ट्याब्लेट बरामद भएको छ।
लागुऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता भएका छन्। यस क्रममा २० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १८ पुरुष र २ महिला छन्। त्यस्तै आत्महत्याका १२ घटना भएका छन्। ११ जनाले झुण्डिएर र एक जनाले विष सेवन गरेर आत्महत्या गरेको विवरणमा उल्लेख छ। मृतकमध्ये १८ वर्षभन्दा कम उमेरका २ जना, १८ देखि ४० वर्ष उमेर समूहका ६ जना र ४० देखि ६० वर्ष उमेर समूहका ४ जना छन्। मृतकमध्ये ६ महिला र ६ पुरुष छन्।
साउनमा प्रहरीले अनलाइन स्क्याम गर्ने भारतीय नागरिकसहितको गिरोह नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका–५, प्रस्याङमा घर भाडामा लिएर विभिन्न व्यक्तिलाई एसिया र युरोपका देशमा घुमाउन लैजाने प्रलोभन देखाउँदै ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले १५ जना युवायुवतीलाई समेत परिचालन गरेका थिए। हालसम्म ३० जना व्यक्तिलाई प्रलोभनमा पारेर ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको र १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई अवैधानिक क्रियाकलापमा संलग्न गराएको प्रहरीले जनाएको छ। कास्कीका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर भएकी बालिकालाई प्रलोभन देखाई होटलमा ल्याउने र पुरुषबाट रकम लिई जबर्जस्ती अनैतिक कार्यमा लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीलाई अनुशिक्षण गरिएको छ। सादा पोसाकमा प्रहरी परिचालन गरी सूचना संकलन, फरार प्रतिवादी पक्राउ तथा लागुऔषध नियन्त्रणको काम गरिएको छ। स्थानीय तह र विद्यालयसँग समन्वय गरी जनचेतनामूलक प्रशिक्षणसमेत सञ्चालन गरिएको छ।
यसैगरी उक्त महिना ८ वटा सवारी दुर्घटनामा १० वटा सवारी साधन संलग्न रहेको र ८ वटा घटनामा प्रहरीले उद्धार गरेको छ। दुर्घटनामा ४ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। तीव्र गतिका कारण ६, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १ र अन्य कारणले १ दुर्घटना भएको प्रहरीको विश्लेषण छ। ट्राफिक चेकिङका क्रममा ५ हजार ९४४ वटा कारबाही गरिएको छ। त्यसबाट ४८ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले साउन महिनाको प्रगति विवरण सार्वजनिक गरेका हुन्।





