बागलुङ/नेपाल बार एसोसिएसन, उच्च अदालत बागलुङ बार इकाईले मुख्य भई काम गर्ने न्यायाधिसलाई स्वागत गरेको छ । अदालतमा प्रमुख भइ आएकी न्यायाधिस यमुना भट्टराईलाई बारले स्वागत गरेको हो ।
उक्त अवसरमा न्यायाधिस भट्टराईले नागरिकलाई न्याय दिन बार र बेञ्च सहयोगी निकाय भएको बताइन् । उनले दुवै तर्फको सहकार्यले पीडितलाई न्याय पुग्नुपर्ने बताइन् । शुरु अदालतभन्दा माथिल्लो र पुनरावेदन सुन्ने अदालत भएकोले उच्च अदालतप्रति नागरिकको विशेष आस्था र भरोसा रहने भन्दै त्यसमा सबैले मेहेनत गर्नुपर्ने पनि बताइन् ।
हेटौडाबाट न्यायाधिस भट्टराई सरुवा भई उच्च अदालत पोखरा, बागलुङ इजलासमा मुख्य भई काम गर्न आएकी हुन् । न्याय परिषदमा भट्टराईको नाम सर्वोच्चमा लैजाने गरी चर्चा भैरहेको छ । उनी अब्बल न्यायाधिसको रुपमा परिषदसम्म चिनिएकी न्यायाधिसमा पर्ने कानून व्यवसायीहरुले बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले जिल्ला तहले गरेका फैसलालाई पुनरावलोकन गर्न सकिने अदालतको रुपमा उच्च रहेको भन्दै सुरु सदर गर्ने पद्दतीभन्दा माथी उठेर अदालतलाई काम गर्न आग्रह गरे ।
अर्का वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले बागलुङ अड्डादेखि वर्तमान उच्च अदालतसम्म आइपुग्दा न्यायाधिसहरुलाई सम्मान गर्ने नागरिकको बसोबास रहेको स्थान भन्दै न्यायालयप्रति श्रद्दा राख्नेहरुको बसोबास भएको इतिहास पनि बताए ।
उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गिता श्रीषको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र सह–सचिव लक्ष्मीदेवी जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा बारका पुर्व अध्यक्ष राजु प्रसाद गौतमले पनि शुभकामना मन्तव्य राखेका थिए ।
मुख्य भइ २६ महिनादेखि कार्यरत न्याायधिस नातीबाबु लामिछानेको सरुवा भएपछि भट्टराई यहाँ आएकी हुन् । अदालतमा हालै आएका अर्का न्यायाधिस तेजनारायण पौडेललाई पनि बारले स्वागत गरिसकेको छ ।
उच्च अदालत बागलुङमा चार न्यायाधिस र २ इजलासको व्यवस्था छ । उच्च अदालतअन्तर्गत पर्वत र म्याग्दी जिल्ला बार एसोसिएसन समेत आबद्द छ ।





