खर्वाङ (बागलुङ)/बिहानै खोरनजिकै लस्करै मारिएका चार वटा खरायोद ेखिए । खोरभित्र चिहाउँदा झन् डरलाग्दो दृश्य देखियोः रगत लत्पतिएको चितुवा मस्त सुतिरहेको थियो। ध्रुव श्रेष्ठले अत्तालिँदै छिमेकीसँग हारगुहार गरे; प्रहरीलाई खबर गरे ।
बागलुङको ढोरपाटन नगरपालिका १, भगवती टोल, बुर्तिबाङका ध्रुवबुधबार बिहानै घरगोठको काम छाडेर सहयोगको याचनामा लागे । उनले खेतीपातीका लागि खरायोको मल राम्रो हुने भएकोले ४० वटा जति खरायो पालेका छन् ।
उनको घर नजिकै बुर्तिबाङ सल्लेरी सामुदायिक वन छ । समय समयमा कुखुरा, खरायो तथा कुकुर हराउने र जंगलमा मृत भेटिने गरेका थिए । चितुवा खोरवरिपरी लगाएको जाली च्यातेरभित्र छिरेको रहेछ । लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली र स्थानीयले होहल्ला गरेपछि चितुवा त्यहाँबाट भाग्यो । गाँउभरी चितुवा आएको खबर फैलियो ।
गाउँभरी नै स्थानीयले खेतबारी तथा झाडीमा ढुङ्गामुडा गर्दै चितुवा भए÷नभएको यकिन गर्न थाले । खेतमा लुकेको चितुवा फेरि भाग्न खोज्थ्यो । त्यसरी भागेको चितुवा भगवती टोलका स्थानीयले लालेन्द्रकुमार पुनको घरभित्र छिरेको देखे ।
गाउँलेले लालेन्द्रलाई घरभित्र चितुवा पसेको खबर दिए । आफ्नो घरमा चितुवा पसेको सुनेका लालेन्द्रलाई यकिन गर्न मन लाग्यो । उनी घर पुगेका मात्र के थिए; चितुवाले झम्टिइहाल्यो । उनको हात, खुट्टामा घाउ लाग्यो ।
अत्तालिएका लालेन्द्र घरको ढोका लगाएर नजिकै मेडिकलमा पुगे । कोठभित्र चितुवा थुनिएको थियो । सबडिभिजन वन कार्यालय बुर्तिबाङका प्रमुख सारिका लामिछाने सहितको जिल्ला र प्रदेश वन कार्यालयको टोलीले दिउँसो चितुवा नियन्त्रणमा लियो ।
गएको साउन दोस्रो सातातिर पनि ध्रुवको खोरमा केही खरायो मृत भेटिएका थिए । चितुवा खरायो खान पल्किएको हुन सक्ने ध्रुव अनुमान गर्छन् । यता, वडाध्यक्ष बानबहादुर छन्त्याल भने वन क्षेत्र भएकाले रातिमा कहिलेकाँही चितुवा भेटिने गरेको भएपनि बस्ती नजिकै यसरी भेटिएको पहिलो पटक भएको बताउँछन् ।
‘सामुदायिक वन नजिकै छ । वन नजिक भएपछि कहिलेकाँही जंगली जनावरले क्षति गर्नु वा बाटोमा भेटिनु त सामान्य नै हो तर बस्तीमै यसरी आएको भने यो पहिलो घटना हो,’ उनले भने ।
डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले उद्धार गरिएको चितुवा पचभैयाँ वन्युजन्तु उद्धार केन्द्र पोखरा लगिने र स्वास्थ्य परीक्षणपछि पुनः प्राकृतिक वासस्थानमै छाडिने जानकारी दिए ।





