शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

पोखरा रंगशालामा फ्लडलाइटका लागि अध्ययन थालियो

पोखरा रंगशालामा फ्लडलाइटका लागि अध्ययन थालियो


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८३, शुक्रबार

पोखरा/पोखरा रंगशालास्थित फुटबल स्टेडियममा फ्लड लाइट राख्न अध्ययन सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान हुनबाट बञ्चित भएको स्टेडियमका लागि बजेट विनियोजन भएसंगै अध्ययन थालिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका इन्जिनियर कृष्णप्रसाद पौडेलले यसबारेमा अध्ययन गरेर उचाइबारेमा जानकारी दिने बताए । स्थलगत अध्ययन गरेका उनले सबै तथ्यांक हेरेर लाइटका लागि कति उचाइको आवश्यक पर्ने हो र विमानस्थललाई असर गर्छ की गर्दैन भन्ने निक्र्याैल गर्ने जनाए । ‘लाइट राख्न धेरै पक्षहरुबाट हेर्नुपर्ने हुन्छ । एक चरणको भ्रमण गरेपछि अब जिल्ला खेलकुद विकास समितिसंग के के तथ्यांक छ त्यो हेर्छौ अनि हामी कति उचाइ भनेर भन्छौं,’ उनले भने ।

अन्तर्राष्ट्रियस्तरको भनिएको उक्त फुटबल मैदानमा भने फ्लडलाइट भने राख्न नमिल्ने देखिएको छ । रंगशालादेखि पूर्वतर्फ करिब डेढ किलोमिटरको दूरीमा अन्तर्राष्ट्रियस्तरकै विमानस्थल बनेको कारण यो समस्या आइलागेको हो ।

निमार्णाधीन विमानस्थलभन्दा रंगशाला सय फिटको उचाइमा छ । उचाइ मापदण्डका कारण पनि फ्लडलाइट अनुपयुक्त देखिएको हो । रंगशालामा क्यानोपी लाइट राख्न मिल्ने भएपनि त्यसले फुटबल खेलाउन मिल्ने तर, एथलेटिक्स खेल खेलाउन सम्भव छैन ।

फिफा मापदण्ड अनुसार अन्तराष्ट्रिय फुटबल मैदानमा फ्लडलाइट र स्कोर बोर्ड अनिवार्य हुनुपर्छ । नभएको खण्डमा क्यानोपी लाइटले पनि काम गर्छ ।

फ्लड लाइटका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०७८ सालमा ६ करोड रुपैयाँ विनियोजन समेत गरेको थियो । तर, करिब १४ करोड रुपैयाँ लाग्ने एन्फाको अनुमान छ । फिफा मापदण्डअनुसार रंगशालाको दक्षिण र उत्तरतर्फ स्कोर बोर्ड र चारैतिर लाइट हुनु पर्नेछ ।

२०४० सालमा निर्माण गरिएको फुटबल मैदानको प्यारापिट २०७२ साल बैशाख १२ र २९ गतेको गएको भूकम्पले क्षति पु¥याएको थियो । राखेपले १ अर्ब २८ करोड रुपैयाँमा ०७५ फागुन २६ गते दुवै तर्फको प्यारापिट भत्काएर पुनर्निमार्ण गरेको हो ।

विमानस्थलबाट १०० फिट अग्लो स्थानमा रहेका कारण विमानस्थलको ‘एप्रोच जोन’ वा ‘ट्रान्जिक्सन जोन’ मा पर्ने सम्भावना रहेको छ । उक्त उचाइबाट करिब २० मिटरसम्म टावर बनाउन मिल्ने देखिएपनि यसपटक भने त्यसमा हेरफेर गर्ने विमानस्थलको मनसाय देखिएको छ ।

रनवेको लेभल र जमिनको लेभल हेरेर कुन जोनमा पर्छ त्यो पनि हेरेर क्यालकुलेट गरेर उचाइ निर्धारण गरिन्छ । एप्रोच जोनमा १५ किलोमिटरसम्म २.२५ मिटरसम्म मात्र बनाउन पाइन्छ । ट्रान्जिसन जोनमा भने १४.२८ मिटरसम्म उचाइ बनाउन मिल्छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले लाइटका लागि ५ करोड र शहरी विकास कार्यालयबाट समेत ३ करोड रुपैयाँ विनियोजन भएको बताए । विमानस्थलकै कारण अहिलेसम्म फुटबल मैदानले पूर्णता पाउन नसकेको र अब कसैगरि पनि लाइट जडान गर्ने बताए । ‘फ्लड लाइट छैन्, स्कोर बोर्ड छैन चेन्जिङ रुम छैन भनेर सधै टार्दै आइरह्यौ । अब यो जात्रा हुनु हुदैँन भनेर हामीले पहल ग¥यौं बजेट आयो’ उनले भने, ‘बजेट पर्याप्त छैन तर, यसले काम गर्ने आधार दिएको छ । विमानस्थलले स्विकृत दिए काम बन्छ।’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->