बागलुङ/मोवाइलमा चर्को बोलेको आरोपमा आफ्नै साथीले धारीलो हतियार प्रहार गर्दा एक युवकको ज्यान गएको रहस्य खुलेको छ ।
ढोरपाटन नगरपालिका वडा नं. ७ घर भइ वडा नं. ५ बस्ने ३६ वर्षिय अशोक खत्रीको आफ्नै साथीले चक्कु प्रहार गरेर हत्या गरेको खुलेको हो । साउन २६ गते काठेखोला गाउँपालिका वडा नं. ३ माझकटेरामा उनको हत्या भएको हो ।
काठेखोला गाउँपालिका वडा नं. ३ माझकटेराका देवेन्द्र खत्रीको घरमा ओखरको बिरुवा रोप्नका लागि खाडल खन्न आएका ढोरपाटन नगरपालिका–५ का २५ वर्षिय अर्जुन घर्तीमगर र ३६ वर्षिय रिखे दमाईले उक्त हत्या गरेको खुलेको हो ।
साउन २६ गते खाडल खन्ने काम सकेर बास बस्ने गरेको स्थानमा फर्केपछि तीनै जनाले रक्सी सेवन गरेको र फोनमा कुरा गर्दा चर्को आवाज बोलेको भन्दै अर्जुनले अशोकमाथि चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।
घाँटीमा लागेको चोटपछि अत्याधिक रक्तश्रावले खत्रीको मृत्यु भएको पाइएको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले बताए । ‘हामीले रातीको पौने १० बजे सूचना पाएका थियौं, त्यसपछि तत्काल उद्दार टोली खटायौं’ प्रसाईले भने, ‘राती नै उनीहरुलाई पक्राउ गरेर ल्यायौं ।’ प्रतिवादीलाई म्याद थपेर अनुसन्धान अगाडि बढाइरहेको प्रसाईले जानकारी दिए ।
साउन २० गतेदेखि नै प्रतिवादी घर्ती र खत्री काममा हिंडेका थिए । तर, बिच बाटोमा खत्रीले काम परेको भन्दै घर फर्किएका थिए । साउन २४ गते मात्र मृतक खत्री सोही काममा आएका थिए ।
तीनैजना स्थानीय एक विद्यालयको कोठामा बस्दै आएकोमा उक्त दिन पनि संगै काम गरेर फर्केपछि रक्सी सेवन गरेका थिए । अघिल्लो दिनको सामान्य झगडाको विषय उठाएर फेरी झगडा थपिएपछि घर्तीले तरकारी काट्ने चक्कुले गर्दनमा प्रहार गरेको खुलेको हो ।
घटनामा प्रयोग भएको चक्कु, रगत लागेका कपडाहरु समेत प्रहरीले संकलन गरी ल्याएको छ । दुवै जनालाई कर्तव्य ज्यान मुद्दा अगाडि बढाउने तयारी भएको प्रहरीले बतायो । मृतक खत्रीको एक पत्नि, १२, ९ र ७ वर्षका तीन छोरा रहेका छन् । गर्भवती रहेकी पत्नि दिलमाया भण्डारीले किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा अगाडि बढाएको हो ।
रसायनिक मलको अबैध ओसारपसार र बिक्री गर्ने पक्राउ
बागलुङ बजार र आसपासको स्थानका लागि भनी ल्याएको रसायनिक मल (युरिया) अबैध रुपमा ओसारपसार र बिक्री गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
गत बुधबार बागलुङका लागि ल्याएको झण्डै २० बोरा रसायनिक मल अबैध रुपमा बिक्री गरेर विरगंज लैजान लागेको अवस्थामा प्रहरीले मल बिक्री गर्ने डिलर संचालक र कारोवार गरी ओसार्ने व्यक्तिलाई पक्राउ गरेको हो ।
बुधबार दिउँसो र बिहिबार बिहान गरी उक्त मल ओसारपसार गरेको अवस्थामा प्रहरीले पर्साको छिपरमाई गाउँपालिका–६ घर भई २५ वर्षदेखि बागलुङमा बसेर विभिन्न क्रियाकलाप गर्दै आएका ५३ वर्षिय दिनेश पंडित कुम्हारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसंगै बागलुङ नगरपालिका वडा नं. २ मा धौलागिरि बिउ भण्डार पसल संचालन गरेका कुलबहादुर राना मगर र वडा नं. ३ को शिवधारा चोकमा कालीग्ण्डकी एग्रोभेट पसल संचालन गरेका विनय शाक्यलाई पनि पक्राउ गरिएको हो ।
पंडितले धौलागिरि बिउ भण्डारबाट ५० केजीका ९ बोरा र कालीगण्डकी मल बीउ भण्डारबाट १० बोरा युरिया मल खरिद गरी विरगंज जाने गाडीमा राखेको भेटिएको हो । मल ओसार्दे गरेको फोटो र भिडियो प्राप्त गरेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बिउ तथा मल पसलहरुको अभिलेख रजिष्ट्रर लगायतका कागजात झिकाई थप बुझ्ने काम गरिहरेको प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले बताए । प्रहरीले उनीहरुलाई ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ४’ बमोजिमको कसुरमा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रशासन कार्यालयले ६ दिनको म्याद थप गरेर अनुसन्धान अनुमति दिएको छ । उक्त दफा अनुसार अबैध कारोवार गर्ने तथा कालोबजारी गर्नेलाई १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
बागलुङस्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट मल खरिद गरी ती डिलरले बजार आसपासको क्षेत्रमा बिक्री गर्न अनुमति लिएका थिए । कर्पोरेसनले हरेक जिल्लाका लागि आवस्यकताको आधारमा मलको कोटा तोक्ने काम गर्छ । उक्त मल तोकेको भन्दा बाहिरको क्षेत्रमा बिक्री बितरण र ओसारपसार गर्न प्रतिबन्ध छ । बागलुङस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले बागलुङ जिल्लाको विभिन्न स्थानका लािग मात्र मल ल्याउने गरेको छ । उक्त मल बरामद गरी प्रहरीले सुरक्षित राखेको छ ।





