पोखरा/प्रधानमन्त्री बालेन शाह शुक्रबार काठमाडौंबाट मुस्ताङ हिंडेको सुनियो । हवाइमार्ग वा सडक मार्ग भन्ने यकिन थिएन । शाह परिवारसहित स्थलमार्ग हुँदै कास्कीको दिउँसो ३ बजे माछापुच्छ्रे गाउँपालिका ६ अस्ताम आइपुगे । अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा उनको टोली बसेको छ ।
स्थानीयले प्रधानमन्त्री आएको सुइकोसम्म पाए तर देख्न पाएनन् । कालो सिसा भएको गाडीमा इको भिलेज आइपुगेका शाहलाई स्थानीयले भेट्न खोजेका थिए । तर सुरक्षामा रहेका नेपाली सेनाले नमिल्ने भन्दै फर्कारहे । स्थानीयले भने देख्न, भेट्न नपाउँदा खिन्न छन् ।
‘प्रधानमन्त्री आउने भन्ने थाहा थिएन । आएपछि थाहा भयो,’ स्थानीय शोभाखर अधिकारीले भने, ‘अब जनताले नै रुचाएका व्यक्ति हुन्, भेट्छन् होला भन्ने लागेको थियो, त्यसो भएन ।’आफ्नै आँगनको बाटो हुँदै रिसोर्टतिर लागेका शाहो गाडी उनले टाढै बसेर हेरे ।
‘प्रधानमन्त्रीज्यूसँग भेट्न असाध्यै इच्छा छ । यहाँका समस्या पनि राख्न मन छ,’ शोभाखरले भने । स्थानीय नन्दलाल अधिकारी पनि खानेपानी अभावले गाउँलेलाई सास्ती भएको बताउँछन् । ‘हाम्रोमा मुख्य समस्या खानेपानीको हो । हामीले भेट्न पायौँ भने खानेपानीबारे कुरा राख्न मन थियो,’ उनले भने, ‘तर, भेट्न मेसो मिलाउन मुस्किल देखिएको छ ।’
अस्ताममा धम्पुसबाट पानी ल्याइएको छ । माथिल्लो अस्ताममा उचाइका कारण पानी पर्याप्त पुग्दैन । माछापुच्छ«े ६ का वडाध्यक्ष टेकनाथ गौतम निजी भ्रमणै भए पनि प्रधानमन्त्रीको आगमनले अस्तामको प्रचार हुने बताउँछन् । उनी भन्छन्, ‘भेट्न पाएको भए धेरै कुरा राख्न हुन्थ्यो । जे भए पनि उहाँ आउँदा यो ठाउँको गौरव बढेको छ ।’
यसअघिका प्रधानमन्त्रीहरुले भ्रमण गर्दा जिल्ला प्रशासनले सुरक्षा व्यवस्था मिलाउने काम गथ्र्यो । तर शाह आउँदा भने काठमाडौदेखि अस्तामसम्मको सुरक्षा नेपाली सेनाले हेरेको देखियो । बीचमा प्रधानमन्त्री शाह ब्यारेकबाहेक अन्त रोकिएनन् । उनी शनिबार बिहानै मुस्ताङ भ्रमणका लागि निस्किने सुरक्षा संयन्त्रले जनाएको छ ।
प्रधानमन्त्रीका लागि पोखरामै सेनाले हेलिकप्टरसमेत तयारी अवस्थामा राखेको छ ।उनको मुस्ताङको भ्रमण तालिका पनि सार्वजनिक छैन ।भ्रमणबारे समाचारमा जे आएको छ, त्यहीमात्र थाहा पाएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बनाइन् ।





