पोखरा/जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले नेपालको संविधानले व्याख्था गरेका तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भूमिका उल्लेखनीय भएको बताइन् ।
उनले योजनाको छनोट र कार्यान्वयनका लागि स्पस्ट कानुनी र व्यवस्थित संरचना निर्माण जरुरी देखिएको उल्लेख गरिन् । जिल्ला समन्वय समिति कास्कीप्रमुख लीलाधर पौडेलले कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर र विकास निर्माणका कार्यमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरिएको उल्लेख गरे ।
प्रमुख पौडेलले विकासका योजना छनोट प्रक्रिया र प्राथमिकीकरणमा देखिएका त्रुटिका कारण पालिकाहरूको कार्य सम्पादनको स्तर अपेक्षित रूपले उत्कृष्ट हुन नसकेको उल्लेख गरे । कास्कीका पालिकालाइ सुशासन, पारदर्शीता र जवाफदेहिता सहितका सेवा प्रवाहमा ध्यान दिन उनले आग्रह गरे ।
शुक्रबार कास्कीका पोखरा महानगरपालिका, अन्नपूर्ण ,माछापुच्छ्रे ,रूपा र मादी गाउँपालिकाहरूको आर्थिक बर्ष २०८२–८३ को समिक्षा गरिएको र आगामी सोमबार बिकास तर्फका कार्यालय एबम मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समिक्षा गरिने जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी,नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेल, माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ सहितले बोलेका थिए ।
कार्यक्रममा जिसस कास्की स्वागत उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल र सूचना अधिकारी लक्षु शर्माले पनि बोलेका थिए ।




