बागलुङ (खर्वाङ)/गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको १ सय ओटा कार्यसूचीको बुँदा नं. २७ मा सरकारी कागजात घरमै पु¥याउने उल्लेख छ ।
उक्त बुँदामा भनिएको छ, “सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी करियर सेवाका रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका कागजात घरमै पु¥याउने व्यवस्था लागु गर्ने ।”
सोही योजना अनुसार अहिले घरघरमा राहदानी पु¥याउने प्रक्रिया सुरु गरिएको छ । सेवा शुरु भए यता मनाङ बाहेक गण्डकी प्रदेशका दश जिल्लामा १ हजार सात सय अठहत्तर थान राहदानी घरघरमा वितरण गरिएको छ ।
हुलाक निर्देशनालय पोखरा र अन्तर्गतका जिल्ला हुलाक कार्यालयहरुको वार्षिक समीक्षा गोष्ठीमा शुक्रबार हुलाक अधिकृतहरुले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । यस अवधिमा गोरखामा ३ सय ३३, लमजुङमा ६०, नवलपुर (वर्दघाट सुस्ता पुर्व) मा ५ सय, तनहुँमा ५ सय ५, स्याङजामा १ सय ५०, पर्वतमा १७ थान राहदानी घरमै पु¥याईएको छ ।
यस्तै बागलुङमा १ सय १, म्याग्दीमा ९७, मुस्ताङमा ६ र कास्कीमा ९ थान राहदानी वितरण गरिएको जिल्ला हुलाक अधिकृतहरुले जानकारी दिए । मनाङ जिल्लामा भने प्रशासनबाटै वितरणको लागि राहदानी प्राप्त नभएकोले वितरण नगरिएको जिल्ला हुलाक कार्यालय मनाङका खरिदार श्यामलाल थारुले जानकारी दिए ।
बागलुङको बुर्तिबाङमा भएको गोष्ठीमा केहि समय अघिसम्म हुलाक कार्यालयले पनि काम गर्छ र ? भन्नेहरु अहिले घरघरमै सरकारी कागजात पुग्न थालेपछि हुलाक र कर्मचारीलाई हेर्ने नजर फेरिएको हुलाक निर्देशनालय पोखराका निर्देशक नेत्रप्रसाद पौडेलले सुनाए ।
“कास्कीमा स्थानीयलाई प्रशासनमा जान कुनै समस्या भएन । त्यहाँ पुगेपछि कुनै त्रुटी भए पनि समाधान गर्न सजिलो भयो । त्यसैले यहाँ ९ थान मात्रै राहदानी वितरण भएको छ । तर हुलाकबाटै सरकारी सेवा घरमा पुग्न थालेपछि भने हुलाकलाई हेर्ने नागरिकको नजर फेरिएको छ” उनले भने ।
सरकारी कुरियर सेवाबाट हुलाकलाई सक्रिय बनाउन खोजेको सरकारले अब छिट्टै सिमकार्ड र विश्वविद्यालयको प्रमाण पत्र पनि नागरिकको घरैमा पु¥याउने तयारी गरेको हुलाक सेवा विभागका निर्देशक सपना कुमारी भट्टराईले बताईन् । मलामीले पनि बाटो छोडिदिने कुनै बेलाको हुलाक सेवा सुस्त भएको अवस्थालाई सरकारले तङग्राउन खोजेको उनले बताईन् ।
“ऐन निमार्णकै क्रममा रहेकोले डाँक शुल्क, पार्सल बिमा, क्षतिपुर्ति लगाएतका विषय कानुन निमार्ण पछि सहज होला” भट्टराईले भनिन्, “सरकारले थप सरकारी कुरियर सेवाबाट विभिन्न थप कामको शुरुवात गर्ने तयारी गरेको छ । सिमित स्रोत साधनका बिच हामीले सेवा प्रभावकारी बनाउनुपर्ने छ, हजुरहरु तयार रहनुहोला ।”
यस्तै जिल्ला हुलाक कार्यालय गोरखाका हुलाक अधिकृत विनोद प्रसाद गैरेले सेवाभावको हुलाक सेवालाई अब व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । उनले सरकारी, बैंक तथा वित्तिय चिठी, पत्रिकाको र राहदानीको मात्रै कुरियर गर्नुभन्दा राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंक कार्ड, सरकारी प्रमाण पत्र समेत हुलाकबाट वितरण गरी राजश्व बढाउन आवश्यक रहेको बताए ।
सहभागिहरुले पछिल्लो समय सडक र प्राविधिक क्षेत्रको विकास तीव्र गतिमा रहेकोले डाँक नक्सा सेवालाई पनि परिमार्जन गरि सहज र सरल बनाउनुपर्ने बताईएको गोष्ठीको संचालन हुलाक निर्देशनालय पोखराका खरिदार चन्द्र प्रसाद भण्डारीले गरेका थिए ।




