आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

उत्पादक–उपभोक्ता जोड्न हाटबजार

उत्पादक–उपभोक्ता जोड्न हाटबजार


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८३, आइतबार

पोखरा/ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सोझै सहरी उपभोक्ताको भान्छासम्म पु¥याउन पोखरा महानगरपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै उत्पादक र उपभोक्ताबीच सोझै सम्पर्क स्थापित गर्ने उद्देश्यले महानगरले बजार व्यवस्थापन र ढुवानीका लागि कृषि एम्बुलेन्स सेवा चलाएको छ ।

पोखराको बिरौटा स्थित साल्ट ट्रेनिङ र कृषि सामग्री कम्पनी नजिकै रहेको खाली क्षेत्रलाई केन्द्र बनाएर महानगरका विभिन्न ग्रामीण वडाका किसानका उपज बिक्रीको व्यवस्था मिलाइएको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए । पोखराका वडा नम्बर २२, २१ र ३३ का उत्पादनलाई वडा नम्बर १७ स्थित बिरौटामा जोडेर यो हाटबजार चलाइएको हो ।

२०७६ मा निर्माण थालेर २०७७ सालमा सुरु गरिएको यो हाटबजार कोभिड १९ महामारीका कारण केही समय रोकिएको थियो । महामारीपछि कृषि एम्बुलेन्समार्फत उपज संकलन गरी बिक्री गरिँदै आएकोमा अहिले फेरि सञ्चालनमा ल्याइएको छ । अब प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म यो हाटबजार नियमित लाग्ने कडरियाले सुनाए ।

बजार पुनः सञ्चालनको पहिलो दिन वडा नम्बर १७, २२ र २१ का वडाध्यक्षलगायत जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो । पहिलो दिन करिब ५ सय जनाले बजार अवलोकन तथा सामग्री खरिद गरेका छन् । किसानका उत्पादन बजारसम्म ल्याउन महानगरले २०८१ सालदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ भने तरकारी र फलफूल खेर जान नदिन साना कोल्डरुमको समेत प्रबन्ध गरेको छ ।

बिरौटाबाहेक महानगरका वडा नम्बर १४, ७, १६ र ९ मा पनि हाटबजार सञ्चालन भइरहेका छन् । यसअघि खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयको समन्वयमा मोबाइल भ्यानमार्फत रातिपोखरी संकलन केन्द्रका उपज परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->