मुस्ताङ/शुक्रबार कास्कीको ग्रामीण क्षेत्रको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बिताएका प्रधानमन्त्री बालेन्द्र शाहले शनिबारको बासका लागि चर्चित एवं ऐतिहासिक होटल रोजेका छन् । कुनै समय चलचित्र छायाङ्कनका लागि मुस्ताङ आएका बेला बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन बसेकै होटलमा शाहको टोली बसेको छ ।
स्थल मार्गबाट आएको टोली जोमसोमको होटल ओम्स होम्समा बास बसेको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् । शनिबार बिहान कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ६, अस्तामको इको भिलेजबाट हिडेको टोली दिउँसो ३ बजेतिर जोमसोम आइपुगेको हो । शनिबारै प्रधानमन्त्री शाहको टोलीले मुक्तिनाथ दर्शन गरी फेरि साँझ होटल नै आएको छ ।
प्रधानमन्त्रीको स्वागतका लागि होटल ओम्स होम्समा शनिबार बिहानैबाट बेग्लै तामझाम थियो । पुथाङ एयरपोर्ट क्षेत्रका सर्वसाधारण प्रधानमन्त्री शाहको स्वागतका लागि तयारी अवस्थामा थिए । तर, प्रधानमन्त्रीको टोली सर्वसाधारणलाई थाहै नदिई होटल पुगेको थियो ।
टोली होटलको मुल ढोकाबाट प्रवेश नगरी पछाडिको गेटबाट प्रवेश गरेको हो ।
प्रधानमन्त्रीसहितको टोली ६ वटा गाडीमा मुस्ताङ आएको छ । मुस्ताङको जोमसोममा शाह बसेको होटल उहाँको उच्च स्तरको होटलमध्ये पर्छ । घरपझोङ—२, मार्फाका बासिन्दा पूर्व जिविस सभापति विष्णुराज हिराचनले सुरुआत गरेको यो होटल पछिल्लो समय त्रिपल गुरुङले चलाएका छन् ।
होटल ओम्स होम्समा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूसमेत बस्दै आएका छन् । प्रधानमन्त्री शाह बसेको होटलमा तीन वटै सुरक्षा निकाय खटिएका छन् । प्रधानमन्त्रीको टोली आइतबार उपल्लो मुस्ताङ जाने स्रोतले जनाएको छ ।
अस्ताममा स्थानीय परिकारमा रमाए
शुक्रबार अन्नपूर्ण इको भिलेजमा दिउँसो पुगेका शाहले सर्वसाधारणसँग भेट नगरे पनि होटल सञ्चालकसँग भने कुराकानी गरेका छन् । योग, ध्यान तथा स्थानीय उत्पादनका लागि नाम कमाएको यो रिसोर्टमा आउनेहरु योग गर्छन्, गाउँमै उत्पादित साग–सिस्नु खान्छन् । प्रधानमन्त्रीको टोलीले पनि त्यही ग¥यो ।
रिसोर्ट सञ्चालक विश्व अधिकारीले प्रधानमन्त्रीको टोलीले पनि योग गरेको उल्लेख गरे । अरु पाहुनालाई आउन रोकिएको भए पनि प्रधानमन्त्रीको व्यवहार भने निकै सरल रहेको उनले बताए । प्रधानमन्त्रीसँग इको भिलेजको अवधारणाबारे कुरा भएको अधिकारीको भनाइ छ । प्रधानमन्त्रीका लागि छुट्टै परिकार नबनाइएको, सिस्नु, कोदाको रोटी, मकैको रोटी, इको टी लगायतका परिवार टोलीले खाएको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीसँग इको टुरिजम, नेपाली मोडलको इकोभिलेज नीति, कृषि पर्यटन, बेलनेस पर्यटन तथा आत्मनिर्भरता लगायतका विषयमा कुराकानी गर्ने अवसर मिल्यो,’ सञ्चालक अधिकारीले भने । प्रधानमन्त्री र टोलीका सहभागीहरूले गाउँ र इको टुरिजमबारे अध्ययन गर्नकै लागि आफूहरु यहाँ आएको जनाएको अधिकारीले सुनाए ।





