पोखरा/गण्डकी प्रदेशको गौरवको योजना ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण अलपत्र परेको छ । संघीयतापश्चात प्रदेश सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गरी गुरुयोजना बनाएको थियो । पोखरा–३३ भरतपोखरी स्थित पशुपतिघाटमा १ अर्ब ६३ करोड लगानीमा रंगशाला निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको थियो ।
१६ लाख खर्चमा बिआरएस इन्जिनियरिङ सोलुसन प्रालिले ४ महिना लगाएर बनाएका डिपिआरमा १ सय २३ रोपनीमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहितको मैदान बनाउने उल्लेख थियो । नदी छेउको जग्गा सेती नदीले धार परिवर्तन गरी आधा बगाएपछि त्यहाँ रंगशाला नबनाउने पक्का भएको थियो । त्यसपछि तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित गाउँफर्कोदय विद्यलयको जग्गामा मैदान बनाउने योजनाअघि बढेको थियो ।
त्यहाँको क्रसरका कारण विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेपछि जग्गाको टुंगो नहुँदा काम अलपत्र परेको छ । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल प्रदेश सरकारले प्रदेश सरकारले योजना ल्याउने तर स्थानीय तहले सहयोग नगर्ने देखिएको बताउँछन् । ‘काम गर्ने कस्ले हो, सधैं अन्योलको भुमरीमा क्रिकेटलाई राखेर हुन्छ ?,’ उनी भन्छन्, ‘हामीले यहाँ क्रिकेट रंगशाला बनाउन निकै प्रयत्न ग¥यौ तर, सकेनौं । प्रदेश सरकारले नै बनाउने भनेको योजनासमेत अलपत्र परेको छ ।’
तत्कालीन खेलकुद महाशाखा प्रमुख प्रकाश देवकोटा यसका लागि सबैभन्दा ठूलो समस्या नै जग्गा प्राप्ति बनेको सुनाउँछन् । ‘पशुपतिघाट होस् वा गाउँफर्कोदय विद्यलयको जमिनै किन नहोस्, योजना अलपत्र परिसकेको छ । सबैभन्दा समस्या जग्गा प्राप्तिमा देखिन्छ’ उनले भने । तनहुँ जिल्ला खेलकुद विकास समिति अध्यक्ष अनिल पाण्डेले स्थानीय खेलकुदका सरोकारवालासँग छलफल र समन्वय नगर्दा क्रिकेट मैदान अलपत्र परेको जिकिर गर्छन् ।
‘हामी पनि जानकार छैनौं । बारम्बार मन्त्रालयमा कुरा उठाएका छौं,’ उनले भने, ‘११ जिल्लामै जग्गा कहाँ छ, कस्तो छ भन्ने अध्ययन भयो भने बरु आर्थिक सहयोग जुटाउने काममा हामी पनि लाग्ने थियौं ।’ नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले पोखराको क्रिकेट विकासका लागि पूर्वाधारमा ध्यान दिन आवश्यक रहेको सुनाए । ‘क्रिकेटका लागि पूर्वाधार आवश्यक छ । गण्डकी प्रदेशमा हामी चाहान्छौं एउटा क्रिकेट रंगशाला बनोस्’, उनले भने, ‘हिजो यहीबाट मैले ढुंगा र झाडु लगाएर क्रिकेट सिकाएको छु, यो मैदान अब त्यस्तो नहोस् । यहाँ पनि ठूला प्रतियोगिता होस् ।’
टमाटाकै पहलमा २०७६ सालमा भएको १३ औं साफ च्याम्पियनसिप अन्तर्गत महिला क्रिकेट पोखरामा भएको थियो । गण्डकी प्रदेशकी सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रदेश सरकारको सपना नै आफ्नै लगानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने रहे पनि केही अड्चनका कारण सफल नभएको सुनाइन् ।
‘तनहुँमा जुन जग्गा छ, त्यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौं । केही समस्याका कारण यो सफल हुन सकेन तर, प्रदेश सरकार क्रिकेट खेलको विकासका लागि हिजोबाटै सकारात्मक छ’, उनले भनिन् ।
क्रिकेट संघको सभा
गण्डकी प्रादेशिक क्रिकेट संघको पाँचौ साधारणसभा आइतबार तनहुँमा भएको छ । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय उपाध्यक्ष रोशनबहादुर सिंहले पोखरामा आगामी २०२७ मा हुने यु १९ महिला क्रिकेट विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा हुने बताए ।
उनले पोखरामै विश्वकपको आयोजना हुने भनिए पनि पूर्वाधारका कारण अहिले सम्भव नभएको उल्लेख गरे । गण्डकी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेलले गण्डकीको खेल संघमध्ये सबैभन्दा क्रियाशीलमा क्रिकेट नै रहेको दाबी गरे ।





