बागलुङ/प्रधानमन्त्री बालेन्द्र शाह ३ दिनदेखि निजी भ्रमणमा छन् । शाहको टोली काठमाडौंदेखि मुगलिङ, पोखरा हुँदै मुस्ताङ पुगेर पोखरा फर्किएको छ । निजी गाडीमा निस्केका प्रधानमन्त्रीले कास्की, म्याग्दी र मुस्ताङका केही स्थानको भ्रमण, मुक्तिनाथदर्शन गरे ।
आइतबार साँढे १२बजे बागलुङ आइपुगेको उनको टोलीले नेपाली सेनाको २३ नम्बर बाहिनीमा खाना खायो । त्यो बिचमा टोली शालीग्राम संग्रहालय जाने चर्चा चल्यो । कालिका मन्दिर दर्शन गर्ने हल्लाले मन्दिरका पुजारी, व्यवस्थापन समितिका पदाधिकारीसमेत तयारी अवस्थामा थिए ।
तर टोली कतै रोकिएन, स्थानीयबाट छलिन शाह चढेको गाडीलाई अर्को गाडीले छेक्दै यात्रा पोखरातर्फ मोडियो । उनको भ्रमणबारे सुरक्षा निकायका प्रमुखहरूपनि अनविज्ञ थिए । अनुमानकै भरमा कतिपय स्थानमा तयारी भएको थियो । टोली उपल्लो मुस्ताङ चर्चा हल्ला चलेको भए पनि मुक्तिनाथबाटै फर्कियो ।
यद्यपि प्रधानमन्त्रीको पनि मुक्तिनाथ मन्दिरमा पूजापछि खिचेको तस्बिर सार्वजनकि भएको छ । तस्बिरकालागि त्यहाँ नागरिक वा सञ्चारकर्मी थिएनन् । निजी जीवनका गोपनियता हुने भए पनि जननिर्वाचित प्रधानमन्त्रीको यात्रालाई आम नागरिकले हेर्ने, नियाल्ने र चासो राख्नु अनौठो होइन ।
बालेन्द्र शाह पनि बहुदलीय व्यवस्थाभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताकारुपमा संसदको बहुमतले प्रधानमन्त्री बनेका हुन् । त्यसैले उनी संसदप्रति त उत्तरदायी बन्नैपर्छ । त्यसबाहेक आम जनताको प्रश्नबाटपनि उनी भाग्न पाउँदैनन् ।
निजी भ्रमण भएपनि प्रधानमन्त्रीको खानपान प्रायः सेनाको ब्यारेकभित्र भयो । बसाइ होटलमा भयो । प्रधानमन्त्री सार्वजनिक स्थलमा गुडिरहेको बेला नागरिकले गाडीको लस्करको फोटो खिचे । पत्रकारहरुपनि विभिन्न स्थानमा पुगेर प्रधानमन्त्रीको तस्बिर लिन पाइन्छ कि भन्दै कुदेको देखियो ।
मिलेदेखि अन्तर्वार्तासमेत गर्ने लक्ष्यले सामाग्री बोकेर अघिपछि लागेका पत्रकार यात्रैभरी रित्तो हात भए ।बाटोमा पर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारी, सेनाका उच्च अधिकारी, प्रहरी अधिकृत, सशस्त्र प्रहरी, ट्राफिक समेतले रातदिन डिउटी गरिरहेको देखियो ।
सवारीमा पहिलेझै साइरन बजेनन्,केही सुधार भएको प्रष्टै देखियो ।सडकमा दोहोरो गाडी पनि गुडेकै थिए । बाटो बन्द भएन । सेनाको सुरक्षाघेरामा प्रधानमन्त्रीको निजी भ्रमण भयो । त्यो हुनपनि पर्छ । उनी एउटा दलको वरिष्ठ नेतासमेत भएकाले जिल्ला तहमा पुग्दा कम्तीमा पार्टी पंक्तिमा सूचना प्रवाह भएको देखिएन ।
रास्वपाका नेता, कार्यकर्तासमेत प्रधानमन्त्री हिड्ने बाटोका विभिन्न स्थानमा बसेका थिए । उनीहरुलाई समेत प्रधानमन्त्री कता जान्छन् भन्ने थाहा थिएन । ‘कम्तीमा एक, दुई जनालाई भनिदिएको भए कुरेर बस्नुपर्ने थिएन’, एक नेताले भने, ‘कतै भेटियो भने के बोल्ने, के भन्ने हतार थियो भने पार्टीको खोजी भइहाले केही साथी देखाउने बाध्यता पनि थियो ।’
आफ्नाप्रधानमन्त्री भेट्ने, तस्बिर खिच्ने चाहना धेरैले राख्छन् नै । तर सरकारी सञ्चार माध्यमका पत्रकारहरु प्रधानमन्त्रीको भ्रमणको तस्बिर खिच्न जाँदापनि फोटो डिलेट भन्दै अपरिचितहरुले हप्काएको सुनियो ।सामाजिक सञ्जाल रसञ्चार माध्यममा प्रधानमन्त्री गाडीमा हुइकिएकाभिडियो र तस्बिरहरु भाइरल बने ।
यतिको यात्रामा एक ठाउँमा भएपनि पार्टी कार्यकर्ता वा सार्वजनिक जीवनका मानिस भेटेर वास्तविकता बताइदिएको भए कति सुन्दर हुन्थ्यो ! प्रधानमन्त्रीलाई सचेत नागरिकले रामकृष्ण ढकालको स्वर रहेको एउटा गीतबाट यति भन्न सक्छः
हसाए नि, रुवाए नि, लगाए नि घाउ
मान्छेभन्दा टाढा हजुर छैन जाने ठाउँ
मन्त्रीको रिसोर्टमा बास
आइतबार मुस्ताङमा फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह साँझ पोखरा–१४ मा रहेको मझेरी मन्जिल रिसोर्टमा बास बसेका छन् । शाह नेतृत्वको मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रहेका खड्कराज पौडल (गनेस)को रिसोर्टमा प्रधानमन्त्रीको टोली बसेको हो ।
शुक्रबार निजी भ्रमण काठमाडौंबाट निस्किएको टोली शुक्रबार राति अस्तामको अन्नपूर्ण इको भिलेज र शनिबार मुस्ताङको जोमसोममा बसेको थियो । आइतबार साढे ३ बजेतिर प्रधानमन्त्री शाहको टोली पोखरा आइपुगेको थियो ।
यसैबीच, पत्रकार सुरेश सुनारले खिचेको शाहको भिडियो नेपाली सेनाले क्यामराबाट हटाउन लगाएको छ । सुनारलाई नेपाली सेनाले शाहको पारिवारिक तथा नितान्त व्यक्तिगत भ्रमण भएकाले भिडियो सार्वजनिक नगरिदिन अनुरोध गरेका थिए । सुनारले भने, ‘उहाँको अनुरोधलाई सम्मान गर्दै उक्त भिडियो डिलिट गरिदिएँ । यो घटनाका क्रममा ममाथि कुनै दुव्र्यवहार भएको छैन ।’





