सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चरा हेर्न पदयात्रा

चरा हेर्न पदयात्रा


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८३, सोमबार

फाइल तस्विर

पोखरा/पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३१ सदस्य सहभागी थिए ।

धम्पुसबाट शनिबार बिहानैसुरु भएको कार्यक्रममा करिब ३ घन्टाको अवधिमा ६३ प्रजातिका चरा अभिलेख गरिएको छ । यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको बासस्थान, व्यवहार र संरक्षणका विषयमा समेत ज्ञान आदानप्रदान गरे । हाइकमा गएकाहरु आइतबार पोखरा फर्किएका छन् ।

कार्यक्रममा सहभागी पोखरा पंछी समाजका सल्लाहकार तथा नेपाल ओर्निथोलोजिकल युनियनका अध्यक्ष हटन चौधरीले यस्ता कार्यक्रमले चराप्रति रुचि बढाउनुका साथै स्थानीय स्तरमा पक्षी संरक्षण र जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।

पोखरा पंछी समाजले हरेक वर्ष समर र विन्टर गरी दुईवटा बर्ड हाइक तथा एकपटक बर्ड फेयर आयोजना गर्दै आएको छ । पाँचौँ शृंखलासम्म आइपुग्दा बर्ड हाइकप्रति पंक्षीप्रेमी तथा प्रकृतिप्रेमीको उत्साह बढ्दै गएको छ।

पंछी समाजका सचिव हेमन्त ढकालले चरा र प्राकृतिक बासस्थानको संरक्षण तथा पंक्षीसम्बन्धी ज्ञान र अनुभव आदानप्रदान गर्न कार्यक्रम भएको जनाए । नियमित बर्ड हाइकले स्थानीय समुदाय तथा युवालाई पक्षी संरक्षण अभियानसँग जोड्न सघाउने उनको अपेक्षा छ ।

कार्यक्रमको नेतृत्व समाजकी उपाध्यक्ष हिरा मल्ल र समन्वय कृपा गुरुङले गरेका थिए । पोखरा पंछी समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै पोखरा क्षेत्रलाई पंक्षी तथा जैविक विविधता संरक्षणको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->