स्याङ्जा/स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–१ बजारमा पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । भैंसी पालक किसानलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले जन विकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो ।
गण्डकी प्रदेश कृषि भूमि व्यवस्था सहकारी मन्त्रालय पशुपन्छी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको ९० प्रतिशत आर्थिक अनुदान सहयोगमा चिस्यान केन्द्र थालनी गरिएको हो ।यहाँ प्रशिक्षण केन्द्र पोखराले ४ लाख ७२ हजार ५ सय लगानी गरेको हो भने सहकारीले ५२ हजार ५ सय साझेदारी गरेको हो ।
चिस्यान केन्द्रमा ५ सय लिटरको मिल्क चिलिङ जडान गरिएको छ भने मिल्क एनलाइजर साथै प्रिन्ट, मिल्क क्यान र सेन्ट्री फ्युट मेसिन आयोजनामा खरिद गरेर प्रयोगमा ल्याइएको छ । चिस्यान केन्द्रमा फयाट र लेक्टोको मात्रा हेरेर कृषकलाई दूधको मूल्य तोकिने छ ।
चिस्यान केन्द्र सञ्चालनका क्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले चिस्यान केन्द्रमा कृषकले कम रकम पाउने त्यसकापूर्तिकालागि पालिकाले एक महिनामा कृषकलाई उत्पादन हेरेर उत्पादनमा अनुदान दिने जनाए । उनले सहकारी मार्फत उन्नत जातका भैसी खरिदमा लिएको ऋणको ब्याजमा ५० प्रतिशत अनुदान दिइने जनाए ।
पालिकामै राज्यको सहयोग मिल्क चिस्यान केन्द्रको भवन बनेपनि प्रयोगमा ल्याउन नसकेको बताउँदै तिवारीले काम थालनी गर्न सजिलो भएपनि निष्कर्षमा निकाल्न सहज नभएको उल्लेख गरे । दुग्ध चिस्यान केन्द्रलाई अब डेरीको रुपमा बिस्तार गर्नुपर्ने बताउँदै तिवारीले कृषकका हरेक समस्यामा पालिकाले साझेदारी गर्ने सुनाए ।
कार्यक्रममा वडा नं १ का अध्यक्ष रणबहादुर थापा, वडा नं –२ का अध्यक्ष धनबहादुर गुरुङ, वडा नं–३ का अध्यक्ष शोभाकान्त काफ्ले, पालिका कृषि प्रमुख डोलराज गैरे, सहकारी ऋण उपसमिति संयोजक तारापति पौडेल, सदस्य नारायण काफ्लेलगायतले बोलेका थिए ।
सहकारीले कृषकलाई ७ प्रतिशत ऋण दिएसँगै कृषक भंैसी पालनमा लागेको र चिस्यान केन्द्र सञ्चालनले सार्थकता पाएको सहकारीका अध्यक्ष खडानन्द पौडेलले बताए । चिस्यान केन्द्रको सञ्चालनका पहिलो दिन कृषकले ४८.५ लिटर संकलन गरको अध्यक्ष पौडेलको भनाइ छ ।





