पोखरा / पोखरा महानगरपालिका-९, पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ ।
महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका निम्ति निवेदन दिन सूचना गरेको थियो । त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणानुसार ३२५ परिवार भूमिहीनको सूचीमा परेका छन् । २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताए ।
उनका अनुसार, प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, सुकुम्वासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए । वडाले सार्वजनिक गरेको सूचनाअनुसार दाबी–विरोध तथा संशोधनका निम्ति प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो ।
अन्तिम विवरणानुसार १४४ परिवार भूमिहीन दलित छन् । १८१ परिवार सुकुम्वासी छन् । यसरी कुल ३२५ परिवार भूमिहीन कायम भएका छन् । यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका हुन् ।
महानगर प्रमुख आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्वासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए । अन्तिम विवरण टुंगो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाइने उनले जानकारी दिए ।
“वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुम्वासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ । हामी कसैलाई अन्याय नहोस् र वास्तविक पीडितले न्याय पाऊन् भन्ने उद्देश्यका साथ छानबिन र दाबी–विरोधको प्रक्रिया पूरा गरेका छौँ,” प्रमुख आचार्यले भने ।
अब पोखरा महानगरपालिकाको कार्यपालिकाले उक्त प्रतिवेदनमाथि छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ । त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्वासी तथा अरू बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ ।
नगरप्रमुख आचार्यले प्रक्रिया समयमै सम्पन्न भएमा अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुम्वासी बस्ती स्थानान्तरणको काम अघि बढाइने बताए । उनले भने, “महानगरपालिकाले सबै सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थित रूपमा स्थानान्तरणको काम अघि बढाउँछ ।”
त्यहाँ बसिरहेकाहरूले वास्तविक सुकुम्वासीको व्यवस्थापनमा आफूहरूले सघाउने प्रतिबद्धता जनाएका छन् । भूमिहीन सुकुम्वासी सरोकार समितिका संयोजक प्रेम गुरुङले विकासका निम्ति आफूहरू बाधक नबन्ने र बसपार्क खाली गर्नुअघि यहाँ बसिरहेकाहरूको व्यवस्थापन हुनुपर्ने बताए ।
“हाम्रो कारणले मात्र बसपार्क बन्न नसकेको होइन, धेरै कारण छन् यसमा । हामी बसपार्क बनाउनका लागि महानगरलाई सहयोग गर्न तयार छौँ । हाम्रो वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ,” गुरुङले भने ।
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका निम्ति ०३२ सालमा जग्गा अधिग्रहण गरिएको थियो । योजना बनाइएको पाँच दशकसम्म बसपार्क नबन्दा पृथ्वीचोक क्षेत्रको सडकपेटी र फुटपाथबाट नै लामो तथा छोटो दूरीका बसहरू गन्तव्यका निम्ति छुट्नुपर्ने बाध्यता थियो ।
त्यहाँको जग्गा सुकुम्वासी र अरू केही व्यक्तिले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन । पछिल्लो समय महानगरले बसपार्कभित्रका व्यापारिक सटर कवल समेत हटाएको छ । महानगरले त्यहाँको जग्गा खाली गरेपछि दातृनिकायको सहयोगमा सुविधासम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ । रासस





