मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पहिलो दिन उत्कृष्ट दुइ युवा सम्मानित

पहिलो दिन उत्कृष्ट दुइ युवा सम्मानित


  • ढाेरपाटन संवाददाता
  • भाद्र ९ २०८३, मंगलबार

बागलुङ/बागलुङका दुइ युवालाई जेसीजले सम्मान गरेको छ । फोटोग्राफीमार्फत पर्यटनको क्षेत्रमा योगदान गरेको भन्दै यहाँका सन्दिप शर्मा र बुटिक व्यवसायमा सफलता पाएकी सन्ध्या राजभण्डारीलाई बागलुङ जेसीजले सम्मान गरेको हो ।

शर्माले धौलागिरि बेसक्याम्प, अन्नपुर्ण, मकालु वेस क्याम्पलगायतका स्थानमा पुगेर संचार माध्यममार्फत फोटो भिडियो सार्वजनिक गर्दै आएका छन् । मकालु बेसक्याम्पको उनको फोटो तथा भिडियोलाई त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो पेजमा पोष्ट गरेका थिए ।

ढोरपाटनलगायतका पर्यटकीय क्षेत्रमा पुगेर फोटो खिचेर संचार माध्यममा पठाउने, ती क्षेत्रको पर्यटन प्रवद्र्दनका लागि आवस्यक सुझाव समेत पेश गर्दै आएका छन् । २३ वर्षिय सन्दिपले आफ्नो समय पर्यटनमा खर्चंदै आएको बताए ।

‘देशको पहिचान बढाउन र पर्यटन प्रवद्र्दनमार्फत देश विकास गर्न सकिन्छ भन्ने सन्देशका लागि यो काम गरेको छु’ उनले भने, ‘पर्यटक भित्राएर देशलाई समृद्दिमा लैजान सकिन्छ ।’ आगामी दिनमा पनि उनले पर्यटन प्रवद्र्दनको कार्यमा काम गरिरहने उनले बताए ।

सन्ध्या क्रियसममार्फत बुटिकका सामाग्री बनाएर देशविदेशमा पठाएर राम्रो व्यवसाय गर्न सकेको भन्दै सन्ध्या राजभण्डारीलाई पनि जेसीजले सम्मान गरेको छ । उनले दशकदेखि विदेशमा सामाग्री पठाउन सकेकी छिन् । ‘नेपालको ग्रामीण क्षेत्रमा बसेर पनि विदेशमा नियमित व्यवसाय गर्न सकिन्छ भन्ने सन्देश दिन सकिएको छ’ राजभण्डारीले भनिन्, ‘विदेशमा बस्ने नेपालीले आफ्नै देशको उत्पादन उपयोग गर्न खोज्ने बनाउन सकियो ।’

शर्मा र राजभण्डारीलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सम्मान गरेका थिए । मंगलबार आयोजित एक कार्यक्रममा श्रेष्ठले उत्कृष्ट काम गर्ने युवालाई सम्मान गर्ने पद्दतीले देश विकास, पर्यटन प्रवद्र्दन जस्ता काममा योगदान पुगेको बताए ।

जेनजी आन्दोलनपछि त युवा पुस्तामा देश बनाउने हुटहुटी समेत बढेको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले बताइन् । उनले युवाहरुले अवसर पाएमा काम गरेर देखाउन सक्छन् भन्ने प्रमाणित भैरहेको भन्दै रोजगारी सिर्जना गर्ने, कामप्रति सम्मान दिने युवालाई राज्यले पनि सम्मान गर्नुपर्ने सुझाइन् ।

जेसीजले युवाको क्षमता विकास, व्यवसायिक सफलता र अनुशासनको क्षेत्रमा काम गर्दै आएको छ । २०३५ सालमा स्थापना भएको बागलुङ जेसीजले विधिको शासन, व्यवसायिक स्वतन्त्रता र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको छ । जेसीजले एक वर्ष, एक व्यक्ति र एक पदको अवधारणासहित युवाहरुमाझ काम गर्दै आएको छ । ४० वर्ष मुनीका युवाहरु जेसीजमा आवद्द छन् ।

जेसीज सप्ताह जेसीज वर्ष २०२६ की अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षता, महासचिव स्विकृति भारीको संचालन र उपाध्यक्ष सुलभ खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

उक्त अवसरमा बागलुङ जेसीजका पुर्व अध्यक्ष तथा बोर्डअफ ट्रस्टीका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, जेसीज लिडर्स अध्यक्ष पार्वती अधिकारी, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव नवराज परियार र सम्मानित युवा सन्ध्या राजभण्डारीले सप्ताहको शुभकामना दिएका थिए ।

जेसीजका अनुसार सप्ताहको दोश्रो दिन धौलागिरि क्याम्पसमा युवाका लागि मनोपरामर्श कार्यक्रम तेस्रो दिन सत्यदेवी स्मृति स्लो बाइक रेश प्रतियोगिता, चौथो दिन उद्घोषण कला तालिम, पाँचौ दिन मैत्रीपुर्ण फुटसल, छैठौं दिन १२ औं अन्तर विद्यालय नृत्य र सातौं दिन स्वर्गिय प्रगतीकुमार श्रेष्ठ स्मृति वक्तृत्वकला र समापन कार्यक्रम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->