बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नुवाकोटका सबै घरमा धारा

नुवाकोटका सबै घरमा धारा


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिका–४ नुवाकोट गाउँमा खानेपानी पुगेपछि खुसीयाली छाएको छ । त्यहाँका सबै घरमा खानेपानीका धारा बनेपछि वर्षाैदेखि सास्ती खेप्दै आएका स्थानीयलाई ठूलो राहत मिलेको छ ।

लामो समयको प्रयास र स्थानीयको सक्रियतामा नुवाकोटका २ सय ३० घरधुरीमा धारा निर्माण गरिएको हो । घरघरका धारामा पानी आपूर्ति भएपछि स्थानीयको दैनिकी सहज भएको नुवाकोट खानेपानी आयोजनाका अध्यक्ष दल खड्काले बताए ।

यसअघि खानेपानीको सहज पहुँच नहुँदा नुवाकोटबासीले लामो समयदेखि समस्या झेल्दै आएका थिए । ‘घरघरमा धारा बनेपछि दैनिक खानेपानीको समस्या समाधान हुने अपेक्षा छ’, खड्काले भने, ‘अब पानीका लागि भौतारिनुपर्ने दिन समाप्त भएका छन् ।’

तल्लोखोला छहराको पानी ७ ओटा ट्याङ्की निर्माण गरेर नुवाकोट र ठूलाचौरका घर घरमा वितरण गरिएको छ । यसअघि ठाडोखोला र अँधेरी खोल्साको पानी संकलन गरी टोल टोलमा निर्माण गरिएका सार्वजनिक धारामार्फत खानेपानी जोहो गर्नुपर्ने बाध्यता थियो ।

घरदैलोमा प्रशस्त पानीको सुविधा भएपछि घरायसी कामदेखि पशुचौपाया र व्यावसायिक तरकारी खेती गर्न पनि सहज हुने डम्बरबहादुर खत्रीले बताए ।

नुवाकोट खानेपानी आयोजना गण्डकी प्रदेश सरकारको पञ्चवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ मा निर्माण सुरु गरिएको थियो । २१ लाखबाट आयोजना सुरु गरिएको थियो । चालु वर्ष पनि आयोजनालाई २५ लाख बजेट छ । बहु वर्षे आयोजना ठूलो भए पनि बजेट थोरै विनियोजन हुँदा झण्डै सात वर्षमा सम्पन्न हुने चरणमा छ ।

‘आयोजनामा केही संरचनाका काम बाँकी छन्, दसैंभित्र सम्पन्न गर्ने लक्ष्य छ’, अध्यक्ष खड्काले भने, ‘आयोजना सम्पन्न हुँदा थप घरधुरी लाभान्वित हुने अपेक्षा छ ।’ एक घर एक धारा अभियानले नागरिकको घरमा शुद्ध खानेपानी पुगेपछि टाढाका धारा वा कुवामा धाउनुपर्ने बाध्यता हटेको अध्यक्ष खड्का बताउँछन् ।
सोही आयोजनाअन्तर्गत ठुलाचौर टोलमा खानेपानीको आपूर्ति गर्न लिफ्टिङ प्रविधिको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->