बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हेलचेक्र्याइँले ल्यायो विपद्

हेलचेक्र्याइँले ल्यायो विपद्


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

बागलुङ/गएको साउन २८ गते झिसमिसेमा पहिरो खस्दा निसीखोला गाउँपालिका वडा नं. २, देविस्थानका धाराटोलका १० घरमा क्षति भयो । पहिरोले घरहरू चर्किंदा कतिपय परिवार बेघरबार बने । गोठहरू पूर्णरुपमा क्षतिग्रस्त हुँदा बर्खे झरीमा पशुचौपायालाई खुला चौरमा बाँध्नुपर्ने अवस्था आयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको स्थलगल निरीक्षणपछि धाराटोलका १७ घर पहिरोको उच्च जोखिममा रहेको यकिन भएको छ । ४४ घर जोखिममा परेका छन् । पहिरो जाने क्रम नरोकिँदा पीडितहरू छिमेकी र बसाइसराईंले खाली बनेका जीर्ण घरमा आश्रित छन् । कतिपय त स्थानीय तहले उपलब्ध गराएको त्रिपालमुनि रात कटाउन विवश छन् ।

उपल्लो बेङ्ग्री हाडिचार बास्खोला गाउँ जोड्ने सडकअन्तर्गत हाडिचारमा खसेको पहिरोले यो विपत्ति निम्त्याएको हो । सडकमा पहिरो खस्दा बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आएको छ । ‘यो ठाउँमा अहिलेसम्म पहिरो खसेको थाहा छैन, बिना योजना जथाभावी बाटो खन्दा उठिबास लाग्ने भयो’, छिपछिपेकी पार्वती घर्तीमगरले भनिन् ।

श्रीमानसागै घरगोठको काममा व्यस्त पार्वती बिहानमा पहिरो खस्दा भागेर ज्यान जोगाउनसफल भइन् । ‘पहिरो खसेको थाहा पाएपछि भागेर ज्यान जोगाउन त सफल भएँ, तर घरगोठमा ठूलो क्षति पुग्यो’, निराश हुँदै घर्तीमगरले भनिन्, ‘‘गाउँमा सडक पुग्दा खुसी थियौं, बर्खामा पहिरो खस्न थालेपछि निराश हुनुपर्ने दिन आएका छन् ।’’

जिल्ला विपद् व्यवस्थापन समितिको निरीक्षणपछि पालिकाको समन्वयमा वडा कार्यालयले तत्कालका लागि पहिरो रोकथामको काम सुरु गरेको छ । ‘हामीले जोखिम कम गर्न पहिरोे रोकथामको काम सुरु गरिसकेका छौं,’ वडाध्यक्ष कुविर विश्वकर्माले भने, ‘स्थानीय रत्नराज्य माविलाई आश्रयस्थलको रुपमा तोकेर प्रहरी, सेना र प्राविधिकको सहयोगमा पहिरो पन्छाउने र प्रभावितको बसाई व्यवस्थापन गरिरहेका छौं ।’

साउन ३० गतेको पहिरोले बडिगाड गाउँपालिका–९, दर्लिङखोला स्थित बलघाँस र खहरेका ८ घर उच्च जोखिममा परे । वडाका बस्ती जोड्न खनिएका सडकमा खसेका पहिरोले ती घरमा जोखिममा परेको बलघाँसकी सुनिता विक बताउँछिन् । हचुवाका भरमा खनिएका सडकले पहिरो निम्त्याउँदा बर्खा यामका रातभर अनिदो बन्नु परेको उनको भनाइ छ ।

गत साउन ५ गते हरिचौर मल्म पाण्डवखानी बोंगादोभान मोटरबाटो अन्तर्गत मल्मको काउलेखोलामा पहिरो झर्दा गलकोट नगरपालिका–७, मल्मको गैराखर्क बस्ती नै जोखिममा परेको छ । तत्काललाई काउलेको पहिरो पन्छाउने काम भएको वडाध्यक्ष राज थापाले बताए । वर्षा रोकिएपछि रोकथामको दीर्घकालीन उपाय खोजिने उनको भनाइ छ ।

विकासको नाममा गाउँ गाँउमा डोजरले जथाभावी खनिएका सडक विनासको कारणका रुपमा देखा परेको जिल्ला समन्वय समिति प्रमुख अमरबहादुर थापा बताउँछन् । कुनै योजना र प्राविधिक विश्लेषण बिना गाउँ गाउँमा सडक खन्ने होडबाजीले डोजर चलाउँदा दीर्घकालीन विकासको सट्टा पहाडी क्षेत्रमा विनास बढी निम्त्याएको उनको बुझाइ छ ।

‘वातावरणीय प्रभाव मूल्याङ्कन बिना निर्माण गरिने सडकले विपद् निम्त्याउँछन् । दिगो सडकका लागि योजनाबद्व काम हुनसके प्राकृतिक विपत्ति कम गर्न सकिन्छ’, थापाले भने । विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन गरेरमात्र सडक निर्माण गर्न सके पहिरोको जोखिम कम गर्न हुने उनले औंल्याए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->