बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८३, बुधबार

पोखरा/सेप्टेम्बर २३ अर्थात् असोज ७ देखि पोखरा–दुबई हवाई उडान सुरु हुँदैछ। पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्ने उडानलाई निरन्तरता दिलाउनका लागि अहिले हवाई कम्पनीसहित पोखराका पर्यटन व्यावसायी र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएइ)का राजदूत सक्रिय भएका छन् ।

राजदूत अब्दुल्लाह साइद मुबारक जरवान अलसाम्सी र पोखराका पर्यटन व्यवसायीबीच यसबारे छलफल भएको छ । पोखराबाट दुबईको यो नियमित उडान गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक र महत्वपूर्ण उपलब्धिको भएकाले सफल बनाउन पर्यटन व्यवसायीहरुले अग्रसरता लिएका हुन् ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे लगायतले राजदूतसँग छलफल गरेका हुन् ।

मध्यपूर्वका देशमा रहेका नेपालीलाई पोखरा उतार्ने र विदेशी पर्यटक पनि बढ्ने भएकाले यो उडानको निकै महत्व रहेको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘पोखरा–दुबईको यो उडानले पोखरालाई युरोप र अमेरिकासम्म पहुँच दिलाउन सघाउँछ।’ दुबईपोखरा रुटमा अहिले यात्रुको बुकिङ राम्रो भएको उनको भनाइ छ ।

राजदूत अलसाम्सीले पनि पोखरामा विदेशी पाहुनाको पहिलो पाइला पर्ने यो दिन नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण अवसर रहेको बताएका छन् । उनले यो उडानलाई दिगो बनाउनका लागि सबैको पहल जरुरी भएकोमा जोड दिए ।

फ्लाई दुबईको बोइङ ७३७ जहाजले यो रुटमा उडान गर्नेछ। १ सय ६६ सिट क्षमताको यो जहाजले सेड्युल फ्लाईटको अनुमति लिइसकेको छ। हरेक दिन बेलुकी सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जहाज गर्नेछ । पोखराबाट बेलुकी सवा ७ बजे दुबईका लागि उडान हुनेछ । पोखरा– दुबइको उडानको समय करिब ५ घन्टाको हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->