पोखरा / गण्डकी प्रदेश सरकारमा सामेल नेकपा -एमाले)का चार मन्त्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । नेकपा -एमाले) र नेपाली कम्युनिष्ट पार्टी -नेकपा)बिच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति बनेको एक महिनापछि गण्डकी सरकारबाट एमाले बाहिरिएको हो ।
एमाले संसदीय बोर्डको मङ्गलबार बसेको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, कृषि मन्त्री भीम कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले राजीनामा बुझाएका हुन् ।
एमाले सरकारबाट बाहिरिए पनि राप्रपा र तत्कालीन नयाँ शक्तिबाट निर्वाचित फणीन्द्र देवकोटाको समर्थन भने अहिलेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई कायमै छ । ५९ सदस्य रहेको गण्डकी प्रदेशसभामा राप्रपा र देवकोटाका साथ हुँदा पाण्डे नेतृत्वको सरकारसँग बहुमत पुग्छ । यहाँ नेपाली कांग्रेसका २७, राप्रपाका दुई, नेकपाका सभामुखसहित सात र एमालेका २२ प्रदेशसभा सदस्य छन् ।
बागमती प्रदेशमा झै राप्रपाले एमाले-नेकपा गठबन्धनलाई साथ दिएमा वा प्रलोपाका संसद फणीन्द्र देवकोटाले पाण्डेलाई साथ नदिएमा पाण्डे सरकार ढल्न सक्ने सम्भावना छ । गण्डकीको अप्ठेरो गणितका कारण एमाले र नेकपाले प्रदेश बाँडफाँट गर्दा गण्डकीलाई छाडेका थिए ।





