पोखरा / रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीका कारण ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली छन् ।
बुधबार बिहान साढे ८ बजेतिर भोटेकोशीमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आएको थियो । बाढी आएलगत्तै नेपाल पर्यटन बोर्ड, पर्यटकीय प्रहरी तथा पर्यटन क्षेत्रका साझेदार निकायहरू प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको स्थिति पत्ता लगाउन र खोजी तथा उद्धार कार्यमा जुटेका छन् ।
पर्यटन बोर्डले विभिन्न ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा बेपत्ताको तथ्याङ्क सार्वजनिक गरेको हो । बोर्डका अनुसार सम्पर्कविहिन हुनेहरूमा भारत, अमेरिका, बेलायत, मलेसिया, अस्ट्रेलिया, नेदरल्यान्ड्स, दक्षिण अफ्रिकालगायत देशका नागरिकहरू रहेका छन् ।
सम्राट टुर्स एन्ड ट्रेभल्सबाट ५९ भारतीय र १२ नेपालीसहित ७१ जना रसुवातर्फ गएका थिए । यस्तै ट्रेकर्स सोसाइटीबाट ९२ जना (७७ विदेशी –राष्ट्रियता खुलिनसकेको, १५ नेपाली), लीफ होलीडेबाट ५५ जना (४६ भारतीय, ९ नेपाली), हिमालयन ग्लेसियरबाट ५२ जना (३७ प्रवासी भारतीय, १५ नेपाली), कैलाश जर्नीबाट ३१ जना (२६ विदेशी, ५ नेपाली), फिसटेल टुर्स एन्ड ट्रेभल्सबाट २७ जना (३ अमेरिकी, १७ मलेसियाली, ७ नेपाली), अल्पाइन इको ट्रेकबाट २० जना (१२ बेलायती, ४ दक्षिण अफ्रिकी, ४ नेपाली), काठमाडौँ होलीडे टुर्सबाट १७ जना (१ अस्ट्रेलियन, १ नेदरल्याण्ड, १५ नेपाली), रिचा टुर्स एन्ड ट्रेभल्सबाट १२ जना (८ विदेशी, ४ नेपाली), एक्सप्लोर भ्याकेसनबाट ७ जना नेपाली घुम्न गएका थिए । उनीहरु सबै अहिले सम्पर्कविहिन रहेका छन् ।

सम्पर्कविहीन भएका पर्यटक तथा पथप्रदर्शकसँग सुरक्षा निकाय, स्थानीय प्रशासन तथा एजेन्सीहरूमार्फत निरन्तर समन्वय र खोजी भइरहेको पर्यटन बोर्डले जनाएको छ ।





