बागलुङ/नेपाल प्रहरीका प्रमुख महानिरीक्षक दानबहादुर कार्कीले नागरिकले फोन र इमेल गरेको भरमा सेवा प्रवाह दिन तयार रहेको बताएका छन् । उनले ग्रामीण क्षेत्रका नागरिकको सामान्य काम गर्न जिल्ला नआउन पनि आग्रह गरे ।
उनले प्रहरीले एकद्वार प्रणालीमार्फत नागरिकको काम गर्न प्रहरीले फोन र इमेलको भरपुर उपयोग गर्ने बताए । बागलुङमा निर्माण भएको जिल्ला प्रहरी कार्यालयको व्यारेक, हिरासत कक्ष, ग्यारेज र आवास तथा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै कार्कीले भौतिक रुपमा सक्षम बनेर प्रहरीले नागरिकको सेवालाई डिजिटल रुपमा सम्पन्न गराउने बताए ।
‘सुविधा सम्पन्न भएको भवनमा आराम गरेर प्रहरीले जनतालाई दुःख दिंदैन, बरु गाउँबाट हजारौं खर्चेर आउन लागेको नागरिकको काम एक क्लिकमा गर्नेछ’ कार्कीले भने, ‘त्यसका लागि प्रहरी एप्स, इमेल इन्टरनेट जस्ता प्रविधिमा प्रहरीलाई सक्षम बनाइसकेको बताए ।
प्रहरीले एकद्वारबाटै आम नागरिकको सेवा दिने व्यवस्थापन गरेको बताए । ‘गेटबाट छिरेको नागरिकले एकै स्थानबाट सबै सेवा पाउने, कति समयमा काम सकिन्छ भन्ने समेत थाहा पाउने गरी डिजिटल बनाउने तयारी छ’ कार्कीले भने, ‘प्रहरीले सेवासँगै अभिलेख संरक्षणको काम पनि गरिरहेको छ ।’ एकद्वार सूचना केन्द्र बनाउने र त्यसै अनुसार काम गर्न उनले सबैलाई निर्देशन दिए ।
नेपाल प्रहरी जोखिम आंकलन गर्न सक्ने, अनुसन्धान र अभियोजनमा अब्बल, सुरक्षामा चुस्त बनाउने बताए । त्यसका लागि सबै प्रहरी युनिटहरु प्रविधिमा सम्पन्न बनाउन पहल भएको उनको भनाइ थियो । नेपाल सरकारको ९ करोड ७१ लख ९३ हजार रुपैयाँमा ‘बिएन कन्स्ट्रक्सन’ले यो भवन बनाएको थियो ।
उक्त भवन बनेपछि जिल्ला प्रहरीको सबै सेवा प्रवाहका लागि पर्याप्त भवन पुगेको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले बताए ।
२०७९ मंसिरबाट शुरु भएको निर्मण गत जेठमा सकिएको थियो । कार्कीले ती भवन उद्घाटन गरी अलपत्र रहेका अन्य चौकी तथा युनिटको पनि निर्माणमा स्थानीय र प्रदेश सरकारको समेत साथ आवस्यक भएको बताए ।
कार्कीका अनुसार अहिले पनि नेपालभर २ सय ८५ प्रहरी युनिट जोखिमका रहेको र ९ सय ७० वटा नयाँ निर्माणको माग आएको बताए । प्रहरीले नवप्रवर्तनका कार्यमार्फत जनताको सेवा, दैविप्रकोप व्यवस्थापन जस्ता काम गरेको बताए । साथै नागरिकको जन्मदेखि मृत्यु सम्मका काममा प्रहरीको भूमिका महत्वपुर्ण भएकोले नगारिकसँगको सहकार्य आवस्यक भएको भन्दै सबै युनिटलाई सोही अनुसार काम गर्न निर्देशन पनि दिए ।
बागलुङमा पनि अझै ८ वटा प्रहरी चौकीको जग्गा नै नभएको र ७ वटाको जग्गा भएर पनि भवन नभएकोले प्रहरीले कष्टकर रुपमा बसेर सेवा दिएको प्रसाईले जानकारी गराए ।
भवन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिपेन्द्र जिसी, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा पुर्व प्रहरी टिकाबहादुर कार्की, सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य, गुठीकी अध्यक्ष लिलादेवी खड्का र काठेखोला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष कुलबहादुर बिकलाई सम्मान गरिएको थियो ।





