शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

विपद् बिर्सन्छ गण्डकी

विपद् बिर्सन्छ गण्डकी

बारम्बार आइरहने विपदलाई अनदेखा गर्ने, पाठ नसिक्ने हो भने अकल्पनीय क्षति भोग्नुपर्ने हुन सक्छ


  • डा सुवास अधिकारी
  • भाद्र ११ २०८३, बिहिबार
तस्बिर/ रासस

हिमताल विस्फोट, अतिवृष्टि, अनावृष्टि र हिमपहिरोले थपिएको जोखिमले हिमाली पारिस्थितिकीय प्रणाली चिन्ताजनक गतिमा परिवर्तन भइरहेको संकेत गर्छ । मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि मनाङका जोखिमपूर्ण हिमताल र रसुवाको विनाशकारी बाढीसम्मका घटनाले यो परिवर्तनको गम्भीरता स्पष्ट पार्छन् । यो परिवर्तनको केन्द्रबिन्दुमा गण्डकी प्रदेश पनि छ। प्राकृतिक प्रकोपका यी घटना आपसमा छुट्टाछुट्टैमात्र होइनन्; यी विश्वको सर्वोच्च हिमालय शृंखलामा गहिरो रूपमा फैलिएको परिवर्तनका हिंस्रक लक्षण हुन् ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अकल्पनीय भयो । पानीको प्रचण्ड वेगले सवारी साधन, भन्सार कार्यालय, टिमुरे बजार र तीन प्रहरी चौकी बगायो । दर्जनौं पुल र सयौं भवनहरु पनि बगे । जल तथा मौसम विज्ञान विभागले रसुवामा करिब ७ मिलिमिटरमात्र वर्षा भएको रिपोर्ट गरेको थियो । यति कम वर्षाले यस्तो विनाश सम्भव नभएकाले अधिकारीहरूले हिमताल विस्फोट वा पहिरोले नदी थुनिँदा आएको बाढी हुन सक्ने आशंका गरेका छन् ।


लेखक

विश्वव्यापी तापक्रम वृद्धिले हिमतालको प्राकृतिक बाँधलाई कमजोर पारेको वैज्ञानिकहरूको बुझाइ छ।गण्डकी प्रदेशमा पनि बाढी र पहिरोको जोखिम उच्च छ। बेनी–जोमसोम सडक, चामे–बेसीशहर सडक र जीवनरेखा मानिने कालीगण्डकी करिडोर नै उच्च जोखिममा छन् । यी घटनाले प्रदेशको मूलभूत कमजोरी स्पष्ट पार्छन्ः यसको भौगोलिक बनोट नै यसको सबैभन्दा ठूलो सम्पदा र गम्भीर खतरा दुवै हो ।
२०८२ असार २४ मा मुस्ताङको लोमन्थाङमा हिमताल विस्फोट भएको थियो । करिब ५,९०० मिटरको मौसमी हिमताल फुटेपछि आएको बाढीले चारवटा पुल बगायो र ३५ किलोमिटरसम्म तलछट पु¥यायो । यो हिमालय क्षेत्रमा अहिलेसम्मकै तेस्रो अग्लो स्थानमा भएको हिमताल विस्फोट हो । २०७८ जेठमा मनाङको चामेमा बाढीले व्यापक विनाश निम्त्यायो । दुवै घटनामा विज्ञहरूले जलवायु परिवर्तनलाई प्रमुख कारण माने । डेढ दशकअघि वैशाखमा सेती नदीमा आएको बाढीले खारापानी बजारलाई बगर बनाइदियो, ठूलो धनजनको क्षति भयो ।

जलवायु परिवर्तनका कारण औसत मनसुनी वर्षा केही घन्टामै सानो क्षेत्रमा केन्द्रित हुन थालेको छ । जसले विनाशकारी आकस्मिक बाढी निम्त्याउँछ। अर्को चिन्ताजनक पक्ष पनि छ, पहिले हिउँ पर्ने ठाउँमा अहिले पानी पर्न थालेको छ । जसले हिमनदी पग्लन क्रम तीव्र बनाउँछ; हिमताललाई कमजोर पार्छ ।

यी घटना र जलवायु परिवर्तनको सम्बन्ध वैज्ञानिक विश्लेषणद्वारा पुष्टि भएका छन् । गण्डकी नदी बेसिन तराईदेखि ८ हजार मिटरभन्दा अग्ला शिखरसम्म फैलिएको छ । चरम जलवायु घटनाको उच्च जोखिममा छ। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र र संयुक्त राष्ट्र विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनका अनुसार, प्रत्येक वर्ष नेपालले चरम जलवायु घटनाका कारण औसत ३३३ जनाको ज्यान र १७.२४ मिलियन अमेरिकी डलर बराबरको क्षति बेहोर्नुपरेको छ। सन् १९७७ देखि नेपालमा २६ हिमताल विस्फोटभइसकेका छन् । तीमध्ये १४ वटाको उत्पत्ति नेपालबाट भएको थियो ।

गण्डकीमा सबैभन्दा ठूलो खतरा हिमताल विस्फोटकै छ । सोही प्रतिवेदनले कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा ४७ जोखिमपूर्ण हिमताल पहिचान गरेको थियो । तीमध्ये २५ वटा तिब्बत क्षेत्रमा, २१ नेपालमा र एउटा भारतमा पर्छन् । कोशी बेसिनमा ४२ वटा रहेकोमा गण्डकी बेसिनमा ३ वटा र कर्णाली बेसिनमा २ वटा गम्भीर रूपमा जोखिमपूर्ण ताल छन् । हिमताल विस्फोटको जोखिम मूल्यांकन गर्दा वैज्ञानिकहरूले विशेषगरी गोरखाको बुढीगण्डकी उद्गम क्षेत्रमा रहेको वीरेन्द्र कुण्ड हिमताललाई पनि उच्च जोखिमकारूपमा हेर्न थालेका छन् ।

उच्च हिमालय पानीको मात्र होइन, हिंस्रक प्रकोपको पनि स्रोत हो । २०७५ असोजमा म्याग्दीको ७,१९३ मिटर अग्लो गुर्जा हिमाल नजिक आएको हिमपहिरोमा ४ नेपाली र ५ दक्षिण कोरियालीको मृत्यु भएको थियो । गण्डकी प्रदेशको पूर्वाधार नै अहिले यसको सबैभन्दा ठूलो कमजोरी बनेको छ। तापक्रम वृद्धिका कारण स्थायी हिउँ पग्लिँदा माटो कमजोर भएको छ, जसले पहिरोको बहाव बढाएको छ। यसले जलविद्युत परियोजनालाई समेत जोखिममा पारेको छ ।

हिमनदी घट्दै जाँदा आधारभूत प्रवाह घट्नेछ भने विनाशकारी बाढी र पहिरोको आवृत्ति बढ्नेछ। यी सबैले वातावरणीय परिवर्तनले प्रदेशको आर्थिक जोखिम बनाएका छन् । जलवायु–प्रेरित विपद्सामना गर्न गण्डकी प्रदेशलेसुरक्षा निकायमा लगानी बढाउनैपर्छ । विपद्मा अग्रपंक्तिमा रहने सशस्त्र प्रहरी बललाई प्राथमिकता दिँदै प्रत्येक जिल्लामा द्रुत प्रतिकार्य टोलीलाई उच्च स्तरको पूर्वाधार, ड्रोन, स्याटेलाइट फोन, चिसो–प्रतिरोधी गियर, बोट तथा हेलिकप्टर उद्धार उपकरणले सुसज्जित गर्नुपर्छ ।

सुरक्षाकर्मीलाई हिमताल विस्फोट, बाढी र हिमपहिरो उद्धारसम्बन्धी नियमित तालिमका साथै संयुक्त विपद् अभ्यास नियमित गरी सुरक्षा निकायबीचसमन्वय सुदृढ बनाउनुपर्छ । वास्तविक समयको मौसम तथा नदीस्तर निगरानी प्रणाली, हिमताल जोखिम नक्सांकन र उपग्रह–आधारित अनुगमनमार्फत् सुरक्षा निकायको तैनाथी रणनीति वैज्ञानिक बनाउनुपर्छ । विपद्मा तुरुन्त परिचालनका लागि छुट्टै आपतकालीन कोषको व्यवस्था गर्नुपर्छ । स्थानीय समुदायको परम्परागत ज्ञानलाई सुरक्षा योजनासँग एकीकृत बनाउनुपर्छ ।

गण्डकी नदी चीनको तिब्बतसँग जोडिएको हिमनदीबाट उत्पत्ति भई नेपाल हुँदै भारत पुग्छ । त्यसैले गण्डकीका समस्या राष्ट्रिय सीमामासीमित छैनन् । अन्तरदेशीय सहकार्य, वैज्ञानिक कूटनीति र क्षेत्रीय अनुसन्धान सञ्जालको सदुपयोग गर्नुपर्छ । हिमताल विस्फोटको नक्सांकनलाई स्थानीय तहसम्म पु¥याउनुपर्छ । संघीय सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूले बेसिन–स्तरीय नक्सांकन गरिरहे पनिप्रदेशले त्यस तथ्यांकलाई स्थानीय र कार्ययोग्य सूचनामा रूपान्तरण गर्नुपर्छ ।

जीवन बचाउने सबैभन्दा प्रभावकारी माध्यम बलियो, समुदाय–केन्द्रित प्रारम्भिक चेतावनी प्रणाली हो । मुस्ताङमा स्थानीयले नै तुरुन्तै तल्लो क्षेत्रलाई खबर गर्दा ठूलो मानवीय क्षति टरेको थियो । प्रदेशले माथिल्लो तटका हिमताल, वर्षा र नदीको स्तरकावास्तविक समयमा निगरानी गर्ने अन्तरसम्बन्धित प्रणालीमा लगानी गर्नुपर्छ । यो समुदाय–नेतृत्वको हुनुपर्छ, जसले चेतावनीपछि के गर्ने भन्ने स्पष्ट निर्देशन प्रदान गरोस् । जोखिम नक्सांकनले भू–उपयोग योजना र विकासलाई निर्देशित गर्नुपर्छ ।

प्रदेशले सबैभन्दा जोखिमपूर्ण क्षेत्र, हिमपहिरो बाटोमा नयाँ बस्ती र महत्वपूर्ण पूर्वाधार निर्माण रोक्न कडा भू–उपयोग नियम लागू गर्नुपर्छ । मनाङ, मुस्ताङ र रसुवाका प्रकोपहरू आपसमा जोडिएका हुन सक्छन्, जसको वैज्ञानिक अध्ययन आवश्यक छ। रसुवामा विनाश ल्याउने पानीको उत्पत्ति गण्डकी प्रदेशलाई परिभाषित गर्ने उही हिमालय शृंखलाको आसपासमा भएको हुन सक्छ। जोखिमहरू वास्तविक छन्, तीव्र गतिमा बढिरहेका छन्, र ढिलाइ गर्नुको औचित्य छैन ।

गण्डकी प्रदेश महत्वपूर्ण जोखिम विन्दुमा उभिएको छ। यसले उद्धार र राहतको पुरानै शैलीमा नबदले निरन्तर मानवीय क्षति र आर्थिक कठिनाइ भोग्नुपर्ने हुन सक्छ । अन्तरदेशीय सहकार्य, वैज्ञानिक कूटनीति र क्षेत्रीय अनुसन्धान सञ्जालसदुपयोग गर्न सकेमात्र यी चुनौतीको सामना सम्भव छ। अध्ययन प्रतिवेदनहरूले स्पष्ट पारेका छन्–अहिले जोखिम न्यूनीकरणमा लगानी र जलवायु परिवर्तनलाई सीमित गर्न ठोस कदम चाल्नुको विकल्प छैन। हिमालय बोलिरहेको छः अब प्रदेशले सुन्ने र काम गर्ने समय आयो ।

(अधिकारी सेन्टर फर प्लान थर्ड पोल इन्भाइरोन्मेन्ट, लान्ज्हो, चीनका अनुसन्धाता हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->