पोखरा/बुधबार बिहान आएको भोटेकोशी बाढीका कारण गण्डकी प्रदेश सभाको बैठक प्रभावित बनेको छ । बाढीपछि सिर्जित परिस्थितिका कारण बैठकको सुरुमै राखिएका शून्य र विशेष समयसभामुख कृष्णप्रसाद धितालले हटाएका छन् ।
बैठक सुरु भएलगत्तै सभामुख धितालले आकस्मिक विपदबाट सिर्जित परिस्थितिमा राहत, उद्धार र उपचारमा ध्यान दिन आग्रह गरे । उनले भने,‘बेपत्ताहरूको खोजी, उद्धार, उपचार र राहतमा ध्यान दिन संघ, प्रदेश र स्थानीय सहकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
सभामा सामाजिक विकास तथा कृषि समिति सभापति दममन्ती रुचालले गण्डकी प्रदेशमा खाद्य अधिकार र खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवदेनसहित पेश गरिन् । सभाका अन्य कार्यसूची हटाइएकाले अर्काे बैठक भदौ ११ गते बिहीबार ११ बजे बस्ने तय छ ।
बिहीबारको बैठकका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदहरूले उठाएका जिज्ञाशाहरुको उत्तर दिने कार्यसूची छ । प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले त्यसका लागि १० प्रदेशसभा सदस्यले जिज्ञाशा टिपाएको जानकारी दिए ।‘१० माननीयका प्रश्नको प्रत्यक्ष रुपमा मुख्यमन्त्रीज्यूले उत्तर दिने कार्यसूची छ,’ सचिव पौडेलले भने ।
बुधबारको बैठक रामघाटमा रहेको प्रदेश सभा सचिवालयकै भवनमा पहिलो पटक बसेको छ । गत वर्षको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा नदीपुरस्थित प्रदेश सभा सचिवालय र बैठक कक्ष आगजनीबाट ध्वस्त भएको थियो । त्यसपछि मालेपाटनको कृषि मन्त्रालयको सभाहलमा बैठक बस्दै आएको थियो । अहिले करिब ५५ खर्चेर नयाँ बैठक कक्ष तयार पारिएको हो ।





