पोखरा / रसुवामा बुधबार आएको बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनाको अभियानमा गण्डकी प्रदेश सरकारकाले चार करोड सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार अपिल सार्वजनिक गर्दै बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा नागरिक प्रभावित भएकोमा मर्माहत भएको उल्लेख गरे । उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
सम्पर्कविहीन नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन, भेटिएका शवहरुको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको र खोजी कार्यलाई तीव्र बनाउन गण्डकी प्रदेश सरकारले समन्वय गरिरहेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले विपद् कुनै एक जिल्ला वा क्षेत्रको मात्र पीडा नभई सम्पूर्ण नेपालीको साझा पीडा र चुनौती भएको औंल्याए ।
उनले भने, ‘सङ्कटको यस घडीमा पीडितको साथमा उभिनु र प्रभावित परिवारलाई सहयोग गर्नु हामी सबैको साझा मानवीय दायित्व हो ।’





