बागलुङ/देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर खड्का ‘रमेश’ नियुक्त भएका छन् ।
गुठी संस्थानले अध्यक्ष खड्कालाई कालीका भगवती गुठीको अध्यक्षमा नियुक्ति गरेको हो । गुठी संस्थानको जिम्मेवारीसम्बन्धी पत्र प्राप्त गरेपछि खड्काले संक्षिप्त प्रतिक्रिया दिँदै संस्थानले अध्यक्षको जिम्मेवारी प्रदान गरेको बताए ।
गुठीको सचिवमा निशान खड्का, कोषाध्यक्षमा सचिन खड्का तथा महिला सदस्यमा विद्या खड्का र मनकुमारी खड्का चयन भएका छन् । यसअघि २०८२ माघ २ गते मात्रै भूपेन्द्र खड्कालाई कालिका भगवती गुठीको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो ।
कालीका भगवती मन्दिरमा नयाँ वर्ष, बडादशै र चैत्राष्टमीमा भक्तजनको भीड लाग्ने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाका लागि देशभरबाट भक्तजन कालिका मन्दिरमा आउने गर्छन् । पछल्लो समय छिमेकी भारतबाट समेत भक्तजन मन्दिर आउने गर्छन् ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि बागलुङ कालीका भगवतीको मन्दिर स्थापना गरेर मेला तथा पूजा सुरु भएको पाइन्छ ।
अहिलेसम्म मन्दिरबारे तीनवटा मात्र पुराना लेखोटहरु फेला परेका छन् । मन्दिरको भित्तामा १४ शक्तिका मूर्ति कुँदिएका छन् । प्यागोडा शैलीको मन्दिरमा तामाकै छानाले छाइएको छ । १ सय ८ तामाका दियो जडित प्यागोडा शैलीको मन्दिरमा तामाकै छानाले छाइएको छ ।





