
प्रतिकात्मक तस्बिर
पोखरा/शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि सडकमै उर्लिएको भेलले कास्कीको पोखरा महानगरपालिकामा ३ जनालाई बगाएको छ । बाटोमा बगेको वर्षाको पानीले पोखरा–३०, ढुङ्गेपाटन बस्ने वर्ष २६ की सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानिकालाई बगाएको हो ।
दिउँसो ४ बजेतिर पोखरा–७ को पुरानो विमानस्थल निजकै आफूहरु सवार स्कुटर रोकेर वर्षाका कारण सडक किनारामा जान लाग्दा उनीहरुलाई पानीले बगाएको हो । ग१३प २८५९ नम्बरको स्कुटर रोकेर उनीहरु सडक किनारातिर जान लाग्दा भेलले बगाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
घटनाको जानकारी पाएपछि प्रहरीले करिब एक किलोमिटर तल पोखरा–१७, बिरौटाको नहरकुलोबाट उनीहरुलाई उद्धार गरेको थियो । दुवैको गण्डकी मेडिकल कलेजमाउपचार भइरहेको छ । शुष्मा र रानिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पोखराको मुख्य सडकमै नाली नहुँदा बारम्बार वर्षातका बेला बाटोमै उर्लिने भेलले मानिस र सवारी साधानहरु बगाउने गरेको छ ।





