पोखरा/बुधबार बिहान आएको भोटेकोशी बाढीको उत्पातबाट कति जनधनको क्षति भयो, यकिन भइसकेकै छैन । अहिले बाढीमा फसेका र सम्पर्कविहीनहरुको खोजी तथा उद्धार जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार कार्यमा लागिरहेको छ ।
शुक्रबार फेरि हिमतालको केही भाग फुटेर बाढी आएपछि उद्धार नसकिँदै त्रास फैलियो । बाढीपछि तनहुँ, गोरखा, नवलपरासी लगायतका जिल्लामा शव भेटिने क्रम जारी छ । एकै पटक सयौं शव फेला परेपछि व्यवस्थापन गर्न कठिनाइ भएको छ । पोखरा ल्याइएका १ सय २ शवको व्यवस्थापन प्रक्रिया जारी छ ।
आफन्त र शुभेच्छुकहरु शवको पहिचान र सनाखत गर्न पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेका छन् । आफन्तको शव सनाखतका लागि बिहीबार चूडामणि भण्डारी दुबइबाट पोखरा आए । उनका भाइ यादव भण्डारी एक महिनाअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सरुवा भई रसुवाको टिमुरे स्थित अध्यागमन कार्यालय पुगेका थिए । कार्यालय प्रमुखको रुपमा त्यहाँ पुगेका यादव बाढीपश्चात सम्पर्क विहीन भएका थिए ।
बाढीपछि सम्पर्कविहिन यादवको हुलियासँग मिल्दोजुल्दो शव गैडाकोट स्थित भोेटेटोलमा भेटिएको थियो । सोही शवको अनुहारसँग मिलेकै कारण भाइको शव हो कि होइन भनी सनाखतका लागि चूडामणि यहाँ आएका हुन् । यादव सम्पर्कविहीन हुनु अघिको रातिमात्रै परिवारसँग कुरा भएको थियो ।
परिवारका सदस्यले बिहान फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको थिएन । ‘हामीले बाढी आयो भनेपछि ९ बजेर पाँच मिनेटदेखि फोन सुरु गरेको लागेन । हामी जान सक्ने वातावरण नै थिएन । यो खबर सुनेपछि म हिजोमात्रै दुबइबाट आएको हुँ,’ चूडामणिले भने, ‘हिजो काठमाडौँतिर यताउति बुझियो, कतैबाट उपाय लागेन । राति खबर थाहा पाएपछि यता हेरम भनेर आएका हौं ।’
यादवका परिवार काठमाडौंमै बस्छन् । श्रीमतिसहित उनका ११ वर्षको छोरी र ८ वर्षका छोरा छन् । ‘भर्खर एक महिना भयो सरुवा भएको । शव भेटिएपछि फोटो हेर्दा हो कि जस्तो देखिन्छ । अब यहाँ हेर्छौ । फोटोकै आधारमा हामी आएका छौं । फोटो मिल्दो छ तर, माटो र लेदोले अझ राम्ररी पहिचान हुन सकिरहेको छैन । यहाँ सफा गरेपछि हेरौं हो होइन पहिचान हुन्छ भनेर आएका हौं’, यादवका दाजुले भने ।

यसरी नै कोही सूचनाको आधारमा त, कोही आफन्तलाई खोज्दै पोखरा स्वास्थय विज्ञान प्रतिष्ठान आइरहेका छन् । यहाँ रसुवा बाढीबाट मृत्यु भएकाको १ सय २ शव छन् । ती शवको पहिचान र सनाखत गर्ने काम जारी छ ।
पोखरामा नवलपरासी पूर्वबाट ४१, गोरखाबाट ११, तनहुँबाट १४ र धादिङबाट २७ शव ल्याइएको छ । बुधबारै ल्याइएका ९ वटा शवलाई मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । धादिङमा फेला परेको एक शवको पनि सनाखत आफन्तलाई बुझाइएको छ । त्यो भक्तपुर नगरपालिकाका ३६ वर्षीय सत्यसुन्दर प्रजापतिको भएको पहिचान भएको हो ।
सत्यसुन्दरका भाइ सत्यकृष्णले शव पहिचान गरेका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी चित्राङ्गत बरालले हालसम्म १ जनाको बुझाइएको र अन्य २ वटा शवको समेत पहिचान भइसकेको बताए । शुक्रबारसम्म २० वटा शवको पोष्टमार्टम भइसकेको छ ।
‘१ शव आफन्तलाइ बुझाईसकेको अवस्था छ भने २ वटा शव पनि पहिचान भइसकेका छन् । त्यसका लागि बाँकी प्रक्रिया हुँदै छन् । हालसम्म २० वटा शवको पोष्टमार्टम भएको छ’, बरालले भने । शुक्रबारसम्म ५७ वटा शवको पहिचानका लागि फोटो खिच्ने, शरीरमा अन्य केहि भए हेर्ने, फिंगरप्रिन्ट लिने र विवरण संकलन गर्नेदेखि भिडियो बनाउने क्रम सकिएको छ ।
शव व्यवस्थापन र पहिचानको काम शनिबार पनि जारी रहनेछ । यता सम्पर्कविहीनहरुको संख्या पनि बढ्दै गएको छ । कास्कीमा बिहीबार १६ जना सम्पर्कमा नरहेको विवरण रहेकोमा शुक्रबार दोब्बर भई ३२ पुगेको छ ।





